‘गोल्डेन बुट’ अवार्डसँगै फुटबल जीवनको ‘ट्रफी क्याबिनेट’ पूर्ण गर्ने दौडमा मेसी

काठमाडौं, ९ असार । फिफा विश्वकप २०२६ का रोमञ्चकारी खेल हेर्ने उत्साह विश्वभरीका दर्शकलाई जति छ त्यो भन्दा बढी पछिल्लो समय कीर्तिमानको श्रृंखला थपिरहेका मेसीको जादूमयी खेलले दर्शकलाई एकपछि अर्को गर्दै रोमाञ्चक बनाइरहेको छ ।

विरोधीहरुलाई समेत हैरान बनाउने गरी मैदानमा जादु देखाइरहेका लियोनल मेसी एकपछि अर्को कीर्तिमान थप्दै जान थालेपछि जब उनी मैदानमाम ओर्लिन्छन अनि अब उनले कुन कीर्तिमान थप्ने हुन् भनेर उनका फ्यान र दर्शक मैदानमा एकटकले उनको जादु हेर्न बाध्य हुन्छ ।

‘गोल्डेन बल’ देखि ‘गोल्डेन बुट’ सम्मको यात्रामा लागिरहेका मेसीले अहिलेसम्म बनाएका कीर्तिमानीहरुलाई आधार मानेर अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले समेते मेसीको जादुमयी फुटबलको प्रशंसा खुलेर गरिरहेका छन् । हो, साच्चिकै अहिले मेसीका लागि एउटा भाष्य बनिरहेको छ– ‘मेसी कीर्तिमानको पछि दौडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनलाई पछ्याउँदै इतिहासको पानामा अटाउन हतार गरिरहेका छन् । फुटबल मैदानमा मेसी हुनु भनेकै ‘कीर्तिमानको उत्सव’ हुनु हो ।’

साच्चिकै यी शब्दहरु मेसीकै लागि बनेका हुन् जस्तो चमत्कार पनि उनले देखाइरहेका छन् । सोमबार राती भएको नकआउट चरण प्रवेशको खेलमा अष्ट्रियालाई २–० गोलले हराउँदै अर्जेन्टिना राउन्ड अफ ३२ मा पुग्यो । यी दुबै गोल मेसीले नै गरे । उनले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरेका हुन्। त्यो गोल विश्वकपको कीर्तिमानका लागि इतिहासमा दर्ज भयो र उनले त्यो गोलसँगै मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान थपे । त्यति मात्रै होइन त्यो गोलसँगै विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्‍याएर उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजाको १६ गोलको कीर्तिमान तोडिदिए । तर, सोमबारको खेलमा मेसी त्यतिमा मात्रै रोकिएनन् ।

३८ वर्षीय मेसीले इन्जुरी समयमा दोस्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाउन सफल भए । यो गोलसँगै विश्वकपमा उनको गोल संख्या १८ पुग्यो। फिफा विश्वकपको ९६ वर्षे इतिहासमा मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्नेदेखि सर्वाधिक गोल गर्नेसम्मका कीर्तिमान आफ्नै पोल्टामा राख्न सफल भए । त्यति मात्रै होइन उनले विश्वकप करियरकै पहिलो ह्याट्रिक गर्ने अवसर पनि यहि विश्वकप खेलमा प्राप्त गरे । उनले अल्जेरिया विरुद्ध ह्याट्रिक गरे । त्यही खेलमा उनले अर्को पनि कीर्तिमान बनाए । उनले त्यो गोल गरेपछि उनी पाँच फरक विश्वकपमा गोल गर्ने दोस्रो खेलाडी समेत बने । यस्तै विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान पनि मेसीले त्यहि खेलमा बनाए ।

यस अघि क्रिस्टियानो रोनाल्डोले ३३ वर्षको उमेरमा ह्याट्रिक गरेका थिए । मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा ह्याट्रिक गर्ने कीर्तिमान बनाए । मेसीले विश्वकपमा समूह चरणदेखि प्रिक्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल र फाइनलसम्म सबै चरणमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका छन् । मेसी विश्वकपमा दुई पटक गोल्डेन बल अवार्ड जित्ने एक्ला खेलाडी पनि हुन् । मेसीले २३औं संस्करणको विश्वकपमा दुई खेलमै ५ गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा छन् । अहिले मेसीको एउटै लक्ष्य छ, ‘गोल्डेन बुट’ । जारी २३औँ संस्करणको विश्वकपमा दुई खेलमै ५ गोल गरिसकेका मेसी अहिले यो अवार्डको दौडमा सबैभन्दा अगाडि छन् । यदि उनले यो अवार्ड जिते भने उनको फुटबल जीवनको ‘ट्रफी क्याबिनेट’ पूर्ण हुनेछ ।