११ महिनामा साढे २५ अर्बका १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौँ, १० असार । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढेसँगै यसको आयातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ११ महिनाको तथ्याङ्कअनुसार नेपालमा १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन भित्रिएका छन् ।

यी सवारीसाधन आयातका लागि कुल २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ खर्च भएको विभागले जनाएको छ । विभागका अनुसार ५० किलोवाटदेखि २०१ किलोवाट क्षमतासम्मका साना–ठूला विद्युतीय सवारीहरू आयात भएका हुन् ।

तथ्याङ्कअनुसार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय सवारीको माग सबैभन्दा बढी देखिएको छ । यस अवधिमा:
५१ देखि १०० किलोवाटसम्म: १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ लागतमा ६ हजार ३५७ वटा सवारीसाधन भित्रिएका छन् ।
५० किलोवाटसम्म: ५ अर्ब ६५ करोड रुपैयाँ बराबरका ३ हजार ६८० वटा सवारीसाधन आयात भएका छन् ।

यसका साथै २०१ किलोवाट क्षमतासम्मका अन्य विभिन्न ढाँचाका विद्युतीय सवारीहरू पनि उल्लेख्य सङ्ख्यामा भित्रिएका छन् ।
नेपाल सरकारले विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिने नीति लिएसँगै र सर्वसाधारणको आकर्षण पनि बढ्दै गएकाले अघिल्ला वर्षहरूको तुलनामा ईभीको आयात दर निकै उच्च देखिएको हो । यसले पेट्रोलियम पदार्थको आयात न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिए पनि विदेशी मुद्रा बाहिरिने क्रम भने तीव्र देखिएको छ ।