भेनेजुएलामा शक्तिशाली भूकम्प: ३२ जनाको मृत्यु, ७०० भन्दा बढी घाइते
एजेन्सी, ११ असार । भेनेजुएलामा बुधबार साँझ गएको विनाशकारी भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पका कारण ७०० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्जले भूकम्पबाट भएको क्षतिको पुष्टि गर्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिनुभएको छ । भूकम्पका कारण दर्जनौँ भवनहरू ध्वस्त भएका छन् भने सयौँ मानिस भग्नावशेषमा पुरिएको आशङ्का गरिएको छ ।
भूकम्पबाट ला गुआइरा राज्य सबैभन्दा बढी प्रभावित भएको छ । कार्यवाहक राष्ट्रपति रोड्रिग्जले उक्त क्षेत्रमा गम्भीर मानवीय सङ्कट उत्पन्न भएको बताउनुभयो । “अहिले हाम्रो प्रमुख प्राथमिकता भग्नावशेषमा फसेकाहरूको जीवितै उद्धार गर्नु र घाइतेको उपचार गर्नु हो,” उहाँले भन्नुभयो । सरकारले ला गुआइरालाई विपद् प्रभावित क्षेत्र घोषणा गर्दै ठुलो सङ्ख्यामा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरेको छ ।