ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासी हिरासतको मृत्युदर दशककै उच्च, एक वर्षमा ५२ जनाको मृत्यु

एजेन्सी, ११ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरू विरुद्ध चालेको कडा कदमका बीच अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) को हिरासतमा मृत्यु हुनेहरूको सङ्ख्या एक दशककै उच्च विन्दुमा पुगेको छ। मानवाधिकारवादी संस्थाहरूले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले अमेरिकी हिरासतभित्रको अवस्था भयावह रहेको चित्रण गरेको छ।

“ह्युमन राइट्स वाच” र “फिजिसियन्स फर ह्युमन राइट्स” को संयुक्त प्रतिवेदन अनुसार, सन् २०२५ जनवरीमा ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि यता आईसीई हिरासतमा कम्तिमा ५२ जनाले ज्यान गुमाएका छन्। ट्रम्पले अवैध आप्रवासन नीतिलाई उच्च प्राथमिकता दिँदै हजारौँ मानिसहरूलाई हिरासतमा राख्ने नीति लिएपछि यो अवस्था आएको हो।

प्रतिवेदनका अनुसार सन् २०२५ जनवरीदेखि २०२६ जनवरीसम्मको एक वर्षको अवधिमा हिरासतमा हुने मृत्युदर अघिल्लो वर्षको तुलनामा १४० प्रतिशतले बढेको छ। यो मृत्युदर पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालको तुलनामा करिब चार गुणा र ट्रम्पकै पहिलो कार्यकाल (२०१७–२०२१) को तुलनामा दुई गुणा बढी हो।

एएफपीका अनुसार प्रतिवेदनकी सह-लेखक एवं एचआरडब्लु अनुसन्धानकर्ता रेगन विलियम्सले हिरासतमा मृत्यु हुनेको दर चिन्ताजनक ढंगले बढेको बताएकी छन्।

प्रतिवेदनले हिरासतभित्र हुने चिकित्सकीय लापरबाहीलाई मृत्युको मुख्य कारण मानेको छ। एक बन्दीलाई नजरबन्दमा ‘स्ट्रोक’ हुँदा समेत उचित औषधि उपचार नदिइएको र अर्का एक मेक्सिकन नागरिकको हृदयघातपछि समयमै उपचार नपाउँदा मृत्यु भएको घटनालाई प्रतिवेदनमा उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।

आप्रवासी हिरासत केन्द्रहरूको सङ्ख्या बढे पनि त्यहाँ उपलब्ध गराइने स्वास्थ्य सेवामा भने भारी कटौती गरिएको छ। हार्वर्ड मेडिकल स्कुलकी सहायक प्राध्यापक एवं प्रतिवेदनकी सह-लेखिका क्याथरिन पिलरले अमेरिकी सरकार आईसीई बन्दीहरूको सुरक्षा सुनिश्चित गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाएकी छन्।

हिरासतभित्रको अमानवीय अवस्था र मानसिक तनावका कारण आत्महत्या गर्नेहरूको सङ्ख्या पनि ठूलो देखिएको छ। प्रतिवेदनका अनुसार पछिल्लो एक वर्षमा मात्रै सात जनाले हिरासतभित्रै आत्महत्या गरेका छन्। आप्रवासीमाथिको कठोर धरपकड र हिरासतभित्रको न्यूनतम् सेवा सुविधाको अभावले गर्दा आगामी दिनमा यो सङ्ख्या अझै बढ्न सक्ने भन्दै मानवाधिकारवादी समूहहरूले चिन्ता व्यक्त गरेका छन्।