विगतमा अहङ्कारले फुट्यौँ, अब परिस्थितिले वामपन्थीहरूलाई एकताबद्ध बनाउँदैछ: झलनाथ खनाल
काठमाडौँ, १४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका वामपन्थी शक्तिहरू परिस्थितिको दबाबका कारण पुनः एकताबद्ध हुने तयारीमा रहेको बताउनुभएको छ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित स्मृति सभामा बोल्दै उहाँले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन वामपन्थी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य भएको बताउनुभएको हो।
सम्बोधनका क्रममा नेता खनालले विगतमा कम्युनिष्ट घटकहरूबीच देखिएको अहङ्कार र आन्तरिक मतभेदका कारण एकता सम्भव नभएको स्वीकार गर्नुभयो। “बीचको कालखण्डमा हामीमा कहिले सिङ पलायो, कहिले जुरो पलायो त कहिले के-के पलायो। त्यसैले हामी एकताबद्ध हुन सकेनौँ,” उहाँले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो, “तर, अहिले मुलुकको असहज राजनीतिक परिस्थितिले हामीलाई बाध्य बनाएको छ। त्यही बाध्यताका कारण हामी वामपन्थीहरू फेरि एक ठाउँमा उभिन थालेका छौँ।” उहाँले आजकै दिनदेखि वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउने गम्भीर थालनी गर्न सम्बद्ध सबैलाई आह्वान गर्नुभयो।
लामो समयदेखि वैचारिक रूपमा फरक-फरक बाटो हिँडेका कम्युनिष्ट दलहरूबीचका मतभिन्नताहरू एउटा विचार गोष्ठीले मात्रै मेट्न नसक्ने उहाँको भनाइ थियो। लामो वैचारिक यात्रा तय गर्न बाँकी रहेकाले तत्कालका लागि देशका ज्वलन्त राष्ट्रिय सरोकारका विषयहरूमा एक भएर कार्यगत एकताका साथ अघि बढ्नुपर्नेमा खनालले जोड दिनुभयो।
कम्युनिष्टहरू छिन्नभिन्न हुँदा हालैको निर्वाचनमा वामपन्थी आन्दोलनले ठूलो धक्का व्यहोर्नुपरेको उहाँले औंल्याउनुभयो। “यदि नेकपाको १७ र एमालेको २५ सिटलाई एकीकृत गरेर चुनावअघि नै कार्यगत एकता गरेको भए हामीले प्रत्यक्ष भिडन्तमा गुमाएका ३२ सिट पनि जोगाउन सक्ने थियौँ। यसो गर्दा संसद्मा कम्तीमा १०० सिट वामपन्थीको हुने थियो,” उहाँले भन्नुभयो, “संसद्मा वामपन्थी दलहरू बलियो भएको भए आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रधानमन्त्री बालेन शाहको यस्तो तानाशाही र स्वेच्छाचारी शैली चल्ने थिएन।”
तस्बिर – विनाेद श्रेष्ठ, मैत्री न्युज ।