प्रत्यक्ष कार्यकारी शासन प्रणालीको विविधतायुक्त हाम्रो मुलुकका लागि उपयुक्त छैनः विद्या भण्डारी

काठमाडौं, १४ असार । निवर्तमान विद्यादेवी भण्डारीले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सामाजिक संरचनालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली उपयुक्त नहुने बताउनु भएको छ ।

उहाँले जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

भण्डारीले लोकतान्त्रिक प्रणालीको सफलताको आधार आवधिक निर्वाचन मात्र नभई संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वप्रतिको निरन्तर प्रतिबद्धता रहेको पनि बताउनुभयो । ‘संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ,’ उहाँले भन्नुभयो,’ ‘जनादेश प्राप्त गरिसकेपछि पनि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हो । शासन प्रणालीको प्रभावकारिता र लोकतन्त्रको सफलताको आधार लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको दृढ प्रतिबद्धतामा निर्भर रहँदै लोकतान्त्रिक संस्कारलाई व्यवहारमा उतार्नुपर्छ ।’