बागमती विश्वविद्यालयद्वारा परीक्षा सकिएको सातौँ दिनमै नतिजा सार्वजनिक

काठमाडौँ, असार १७ बागमती विश्वविद्यालयले आफ्नो परीक्षा प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै स्नातक तह पहिलो सेमेस्टरको परीक्षाफल परीक्षा सकिएको सात दिनभित्रै सार्वजनिक गरेको छ । विश्वविद्यालयअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको नतिजा आज एकैसाथ प्रकाशन गरिएको हो ।

विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार समयसापेक्ष गुणस्तरीय शिक्षा र चुस्त परीक्षा प्रणालीको लक्ष्यअनुरूप नै द्रुत गतिमा नतिजा प्रकाशन गरिएको हो । विश्वविद्यालयले एक वर्षअघि देखि मात्र स्नातक तहमा व्यवस्थापन तथा कानुन (म्यानेजमेन्ट एन्ड ल), विज्ञान तथा प्रविधि (साइन्स एन्ड टेक्नोलोजी) र शिक्षा तथा सामाजिक विज्ञान (एजुकेसन एन्ड सोसिएल साइन्स) सङ्कायको पठनपाठन सुरु गरेको थियो ।

विश्वविद्यालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार शिक्षा तथा सामाजिक विज्ञान सङ्कायमा  ८९.४४ प्रतिशत, विज्ञान तथा प्रविधि सङ्कायमा  ७९.०३ प्रतिशत, व्यवस्थापन तथा कानुन सङ्कायमा  ७२.५८ प्रतिशत उत्तीर्ण प्रतिशत रहेको छ ।

नेपालका अन्य विश्वविद्यालयहरूमा परीक्षाफल प्रकाशनमा ढिलाइ भइरहेको गुनासो आइरहँदा बागमती विश्वविद्यालयले अवलम्बन गरेको यो तदारुकतालाई शैक्षिक क्षेत्रमा विशेष महत्त्वका साथ हेरिएको छ ।