पेट्रोलियम पदार्थको मूल्यमा गिरावट : पेट्रोलमा २० र डिजेलमा ३० रुपियाँ घट्यो
काठमाडौँ, असार १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमको नयाँ निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपियाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपियाँ मूल्य घटाइएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २६५ ले मूल्य कटौती गरिएको छ। उपभोक्ताको भान्सासँग जोडिएको खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर १०० रुपियाँ घटाइएको छ ।
समायोजन गरिएको मूल्यअनुसार अब तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा पेट्रोल प्रतिलिटर १९७ रुपियाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपियाँ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोलको मूल्य २१७ रुपियाँ र डिजेलको २२५ रुपियाँ रहेको थियो ।
त्यसैगरी, पहिलो वर्गअन्तर्गतका तराईका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज) मा पेट्रोल प्रतिलिटर १९४.५० रुपियाँ र डिजेल १९२.५० रुपियाँ कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा पेट्रोल १९६ रुपियाँ र डिजेल १९४ रुपियाँ तोकिएको छ ।
हवाई इन्धन (आन्तरिक) को नयाँ मूल्य प्रतिलिटर २२९ रुपियाँ कायम भएको छ। मूल्य कटौतीपछि अब उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २,०६० रुपियाँमा प्राप्त गर्नेछन् । जसको मूल्य यसअघि २,१६० रुपियाँ रहेको थियो ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्य र अन्तर्राष्ट्रिय बजारको उतारचढावलाई मध्यनजर गर्दै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।