पाकिस्तानको लाहोरमा शिक्षण केन्द्रको छत भत्किँदा १४ बालबालिकाको मृत्यु, सञ्चालक पक्राउ

एजेन्सी, १७ असार । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण (ट्युसन) केन्द्रको भवनको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। निर्माणाधीन भवनको कमजोर छत खसेर भएको यस दर्दनाक दुर्घटनापछि प्रहरीले शिक्षण केन्द्रका सञ्चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको सो शिक्षण केन्द्रको दोस्रो तलाको अपूर्ण र कमजोर संरचना भत्किएर उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनालगत्तै उद्धार टोली, सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खाली हात र बेल्चाको सहयोगमा भग्नावशेष पन्छाएर बालबालिकाहरूको उद्धार गरेका थिए। घाइते बालबालिकाहरूको हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि सो क्षेत्रका स्थानीय बासिन्दाहरूले आक्रोश व्यक्त गर्दै जीर्ण र असुरक्षित भवनमा कक्षा सञ्चालन गर्न अनुमति दिने सञ्चालकमाथि हदैसम्मको कानुनी कारबाहीको माग गरेका छन्। स्थानीय बासिन्दा जफर इकबालका अनुसार एउटै टोलका धेरै परिवारले आफ्ना सन्तान गुमाएकाले सिंगो समुदाय शोकमा डुबेको छ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शहबाज सरिफले यस दुखद् घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। उहाँहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देशभरका विद्यालय तथा सार्वजनिक भवनहरूको सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ।