बजारमा ग्यास अभाव हुनुको कारण ‘मनोवैज्ञानिक त्रास’ : आपूर्ति सहज बनाउन मुख्य सचिवको पहल
काठमाडौँ, १९ साउन । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव र आपूर्ति व्यवस्थापनका विषयमा व्यवसायीहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा ग्यास अभावको वास्तविक कारण र समाधानका उपायबारे विस्तृत समीक्षा गरिएको थियो । छलफलका क्रममा ग्यास व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभई केवल ‘अभाव हुन सक्ने’ हल्ला र मनोवैज्ञानिक त्रासका कारण माग अस्वाभाविक रूपमा बढेको दाबी गरेका छन् ।
पश्चिम एसियाको द्वन्द्वका कारण आपूर्तिमा समस्या आउन सक्ने डरले सरकारले केही समयअघि ७.१ केजीको आधा सिलिन्डर मात्र वितरण गर्ने निर्णय गरेको थियो । हाल पुनः १४.२ केजीको भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले एकैपटक धेरै सञ्चय गर्न खोज्दा बजारमा चाप देखिएको व्यवसायीहरूको भनाइ छ ।
मुख्य सचिव कार्कीले ग्यास अभावको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न र उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउन सम्बन्धित मन्त्रालय, विभाग र आयल निगमलाई निर्देशन दिनुभयो । उहाँले सरोकारवाला पक्षहरूसँगको संवादलाई निरन्तरता दिँदै वितरण प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले विगत छ महिनामा नियमित खपतको तुलनामा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत अप्रिलमा ५१ हजार मेट्रिक टनको कोटा रहेकोमा ३४ हजार मात्र आयात भएको थियो भने मे महिनामा ४९ हजारको कोटामा २८ हजार मेट्रिक टन मात्र ग्यास भित्रिएको थियो । “लामो समय आधा सिलिन्डर प्रयोग गरेका उपभोक्तामा अब ग्यास पाइँदैन कि भन्ने मनोविज्ञान बनेको छ, जसले गर्दा सबैले एकैपटक भरी सिलिन्डर लिन खोजिरहेका छन्,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अबको तीन महिनासम्म मासिक ५५ देखि ६० हजार मेट्रिक टन ग्यास आयात गर्ने हो भने यो समस्या पूर्ण रूपमा समाधान हुनेछ ।”
बैठकले ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी र नियमित बनाउन सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय समेत गरेको छ ।
छलफलमा प्रधानमन्त्री कार्यालयका सचिव वीरेन्द्रकुमार यादव, उद्योग मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल आयल निगमका कार्यकारी निर्देशक दीपक बराल तथा ग्यास उद्योगीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सरकारले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न र बजारमा ग्यासको अभाव नहुनेमा ढुक्क रहन समेत आग्रह गरेको छ ।