चितवन निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखा पर्‍यो

काठमाडौँ, साउन २० । चितवन राष्ट्रिय निकुञ्जको पर्यटकीय केन्द्र सौराहा आसपासको मध्यवर्ती वन क्षेत्रमा नयाँ जङ्गली हात्ती देखापर्न थालेको छ । विगत दुई सातादेखि अन्दाजी १८-१९ वर्षको एक जङ्गली भाले हात्ती यस क्षेत्रमा विचरण गरिरहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार यो नयाँ हात्ती हाल सौराहाको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बसिरहेको छ । केही दिनअघि खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पुगेको उक्त हात्तीलाई त्यहाँ रहेका अन्य वयस्क जङ्गली हात्तीले लखेटेपछि अहिले यो निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्तीसार आसपास देखिने गरेको छ । राहतको कुरा के छ भने, उक्त हात्तीले हालसम्म मानव बस्तीमा प्रवेश गरेर कुनै पनि क्षति वा दुःख दिएको छैन ।

किन एक्लियो हात्ती
संरक्षण अधिकृत पौडेलका अनुसार हात्तीहरूको बथानमा पोथीको नेतृत्व हुने गर्दछ । ‘अल्लारे उमेरका भाले हात्तीहरूले बथानमा अनुशासनहीन काम वा उपद्रो मच्चाएमा बथानका नेतृत्वकर्ताले उनीहरूलाई निष्कासन गर्ने गर्दछन् ।’ पौडेलले बताउनुभयो । अध्ययनअनुसार यसरी बथानबाट निकालिएका हात्तीहरू एक्लै विचरण गर्ने गर्दछन् । अहिले यो हात्ती प्रायः मध्यवर्ती क्षेत्रमा रहने र कहिलेकाहीँ पोथी हात्तीको खोजीमा निकुञ्जका हात्तीसारसम्म पुग्ने गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा यसअघि देखि नै ध्रुवे, गोविन्दे र रोनाल्डो जस्ता चर्चित जङ्गली हात्तीहरू एक्लै बस्दै आएका छन् । विगतमा यहाँ रोमियो, नानापाटेकर र मकुना जस्ता हात्तीहरूको पनि निकै चर्चा हुने गर्दथ्यो । तीमध्ये मकुना हात्तीले मानिसलाई आक्रमण गर्न खोज्दा आत्मरक्षाका लागि चलाइएको गोली लागी मृत्यु भएको थियो ।

नयाँ हात्तीको उपस्थिति देखिएसँगै निकुञ्ज प्रशासनले स्थानीय र पर्यटकहरूलाई सतर्क रहन समेत आग्रह गरेको छ ।