काठमाडौँ महानगर कार्यपालिका बैठक : सम्पत्ति करको समस्या समाधान गरिने, ‘बाइक एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय
काठमाडौँ, साउन १९ । काठमाडौँ महानगरपालिकाको ५५औँ कार्यपालिका बैठकले सम्पत्ति कर निर्धारणमा देखिएका समस्या समाधान गर्ने, नगर प्रहरीको पदपूर्ति गर्ने र स्वास्थ्य सेवामा ‘बाइक एम्बुलेन्स’ सञ्चालन गर्ने लगायतका १२ वटा महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।
सम्पत्ति कर र राजस्व सम्बन्धी निर्णय
महानगरपालिकाको केन्द्रीय कार्यालय काठमाडौँ प्लाजामा कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकमा मुख्य सडकलाई आधार मानेर भित्री भवनहरूको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको मर्काका विषयमा छलफल भएको थियो । यस सम्बन्धमा मालपोत कार्यालयसँग तत्काल समन्वय बैठक गरिने कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिनुभयो । समन्वयबाट समाधान ननिस्किए विधायन समिति, राजस्व समिति र सहरी योजना आयोगले संयुक्त रूपमा अध्ययन गरी वैज्ञानिक समाधान निकालिने उहाँको भनाइ थियो । राजस्वको दरमा हुन सक्ने दूरगामी असरलाई ध्यानमा राख्दै हाललाई विगतकै दररेट कायम गरिएको समेत उहाँले स्पष्ट पार्नुभयो ।
सहरी योजना आयोग र कर्मचारी व्यवस्थापन
बैठकले सहरी योजना आयोगका सदस्यहरूको नियुक्तिलाई अनुमोदन गरेको छ । आयोगको सदस्यहरूमा आर्किटेक्ट बाबुराम भट्टराई, डा. सुरजराज काफ्ले, सरस्वती मानन्धर, प्रसुनरत्न बज्राचार्य, सुरज डङ्गोल, पुरुषोत्तम महत र दामोदर गिरी नियुक्त हुनुभएको छ । यस्तै, नगर प्रहरी नायव उपरीक्षकद्वय शिवलाल पौडेल र पूर्णचन्द्र भट्टलाई नगर प्रहरी उपरीक्षकमा तथा नगर प्रहरी निरीक्षक रामेश्वर उपाध्यायलाई नगर प्रहरी नायव उपरीक्षकमा कायम मुकायम मुकरर गर्ने निर्णय गरिएको छ । बैठकले करार सेवाका कर्मचारीहरूको म्याद थप गर्नुका साथै महिला तथा बालबालिका महाशाखा प्रमुख जानकी सिंहलाई बाल कल्याण अधिकारी तोक्ने निर्णय समेत गरेको छ ।
स्वास्थ्य र पर्यटनका नवीन कार्यक्रम
महानगरले आकस्मिक स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन ‘बाइक एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको छ । यसैगरी, कला र संस्कृतिको प्रवर्द्धनका लागि ‘काठमाडौँ फिल्म फेस्टिभल’को कार्ययोजना र अनुमानित बजेट समेत स्वीकृत भएको छ ।
भूमि समस्या समाधानमा छलफल
बैठकमा भूमि समस्या समाधान समितिबाट प्राप्त पत्रका आधारमा अव्यवस्थित बसोबासीको व्यवस्थापन, स्ववासी र ‘बेनिस्सा’का जमिन व्यवस्थापनका विषयमा सघन छलफल भएको थियो । महानगरका निर्देशक वसन्त आचार्यले भूमि समस्या समाधानका लागि भइरहेका कानुनी र समन्वयकारी प्रयासहरूबारे बैठकलाई जानकारी गराउनुभएको थियो ।
बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका सदस्य सचिव समीक्षा निरौला, स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. र वातावरण समितिका सदस्य सचिव सरिता राईले आ-आफ्नो क्षेत्रका प्रस्तावहरू पेस गर्नुभएको थियो ।