नेपाल राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै, दिउँसो ३ बजेसम्म बोलकबोल खुला

काठमाडौँ, १९ असार । नेपाल राष्ट्र बैंकले आज शुक्रबार २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ बोलकबोलमार्फत जारी गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३ः०० बजेसम्म यस ऋणपत्रका लागि आवेदन दिन सकिनेछ।

यस ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिनेछ भने आर्जित ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। ऋणपत्रको सावाँ २०८४ असार १९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँ र त्यसपछि ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) का लागि मात्र जारी गरिएको हो। स्वीकृत ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ। यस ऋणपत्रलाई बैंकहरूले कर्जाका लागि धितोका रूपमा समेत प्रयोग गर्न सक्नेछन्।

स्वीकृत ऋणपत्र सम्बन्धित वित्तीय संस्थाको लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यस लगानीलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाउने छैनन्। यद्यपि, वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।