‘एमालेविरुद्ध चौतर्फी घेराबन्दी र गलत प्रचार भयो, कार्यकर्ताले परीक्षा दिने बेला आयो’ – अध्यक्ष ओली

काठमाडौँ, असार २० । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आफ्नो नेतृत्वविरुद्ध नियोजित रूपमा गलत प्रचार र राजनीतिक आक्रमण भइरहेको दाबी गर्नुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बागमती प्रदेश कमिटीले आयोजना गरेको ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमाले सफलताका साथ अगाडि बढिरहेको देख्न नसक्ने तत्वहरूले भ्रम फैलाएको उल्लेख गर्दै जस्तोसुकै व्यवधान आए पनि पार्टी अविचलित रूपमा अघि बढ्ने उद्घोष गर्नुभयो । ‘हामीले पार्टी इतिहासमा समय समयमा ठूला धक्का र असफलताहरू बेहोरेका छौँ  ।’ उहाँले भन्नुभयो, ‘हामीलाई रोक्न अनेक व्यवधान खडा गरिन्छन्, तर ती सबैलाई छिचोल्दै एमाले अघि बढ्छ ।’

कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको परिस्थिति पार्टी पंक्ति र कार्यकर्ताका लागि एउटा ‘परीक्षाको घडी’ भएको टिप्पणी गर्नुभयो । उहाँले कार्यकर्ताको साहस र भरोसाले नै पार्टीलाई पुनः उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीको हार जित र सफलता असफलताको जिम्मेवारीका सन्दर्भमा बोल्दै उहाँले नेतृत्वका हिसाबले आफूले जिम्मेवारी लिने तर पार्टीले धक्का खाँदा अध्यक्षलाई मात्र दोष दिएर उम्किन नमिल्ने बताउनुभयो । ‘पार्टी सफल वा असफल हुँदा नेतृत्वको हिसाबले मैले जिम्मेवारी लिन्छु, तर पार्टीले अप्ठ्यारो परेर धक्का खायो भने अध्यक्ष एक्लैको जिम्मेवारी हुँदैन ।’ ओलीले भन्नुभयो, ‘पार्टी विरोधीहरूसँग मिलेर नचाहिने खालका गतिविधिमा संलग्न हुनु कसैका लागि पनि हितकर छैन ।’

सोही अवसरमा एमाले सचिव महेश बस्नेतले ‘पार्टी जागरण अभियान’ मार्फत एमालेलाई पुनः पहिलेकै शक्तिशाली अवस्थामा फर्काइने दाबी गर्नुभयो । उहाँले तत्कालका लागि पार्टी पुनर्गठनभन्दा पनि जागरण अभियानमार्फत संगठनलाई सुदृढ र बलियो बनाउनु मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो ।

एमालेले बागमती प्रदेशबाट सुरु गरेको यो अभियानले तल्लो तहका कार्यकर्तामा उत्साह भर्ने र विपक्षीले फैलाएका भ्रमहरू चिर्ने लक्ष्य लिएको छ ।