हेटौँडाको रातोमाटेमा बस दुर्घटना: ९ जना घाइते, चालक प्रहरी नियन्त्रणमा

हेटौँडा, २० असार । हेटौँडा–वीरअगन्ज सडक खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा शनिबार यात्रुवाहक बस दुर्घटना भएको छ। जनकपुरबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ७४५७ नम्बरको बस रातोमाटे चेक प्वाइन्ट नजिकै दुर्घटनामा परेको हो।

दुर्घटनामा परी बसमा सवार ३०–३५ जना यात्रुमध्ये ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेहरूको अवस्था गम्भीर रहेकाले उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ। अन्य यात्रुहरू भने सामान्य रहेका छन्।

दुर्घटना लगत्तै रातोमाटे चेक प्वाइन्टमा खटिएका सुरक्षाकर्मी र स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए। मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेहरूको अस्पतालमा उपचार भइरहेको र अन्य यात्रुहरू सुरक्षित रहेको जानकारी दिनुभयो।

प्रहरीले दुर्घटनामा संलग्न बसका चालक धनुषाको जनकपुर उपमहानगरपालिका–८ बस्ने ५० वर्षीय धनीराम विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तीव्र गति वा प्राविधिक गडबडीका कारण बस दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।