मेक्सिकोविरुद्धको भिडन्तअघि इंग्ल्याण्डलाई ‘एज्तेका रंगशाला’ को उचाइ र मौसमको चिन्ता

 

मेक्सिको सिटी ।  फिफा विश्वकपको नकआउट चरणअन्तर्गत आइतबार हुने मेक्सिको र इंग्ल्याण्डबीचको बहुप्रतिक्षित खेलअघि रंगशालाको उचाइ र प्रतिकूल मौसम मुख्य चर्चाको विषय बनेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, मेक्सिको सिटीस्थित समुद्री सतहबाट २,२४० मिटरको उचाइमा रहेको ऐतिहासिक ‘एज्तेका स्टेडियम’ मा हुने यो खेल इंग्ल्याण्डका लागि शारीरिक र प्राविधिक दुवै रूपमा चुनौतीपूर्ण हुने देखिएको छ।

अक्सिजनको अभाव र उचाइको चुनौती
एज्तेका रंगशालाको उचाइमा हावा पातलो हुने भएकाले खेलाडीहरूलाई सास फेर्न कठिन हुने र शरीरले पर्याप्त अक्सिजन नपाउने विज्ञहरूले बताएका छन्। यसले खेलाडीहरूमा चाँडो थकान हुने, मुटुको धड्कन बढ्ने र खेलपछि शरीरलाई पुनः ताजा बनाउन (रिकभरी) समय लाग्ने जोखिम हुन्छ।

यति मात्र होइन, पातलो हावाका कारण फुटबलको गति पनि मैदानमा फरक हुनेछ। यहाँ बल सामान्यभन्दा छिटो र टाढा पुग्ने भएकाले विशेषगरी गोलकिपर र डिफेन्डरहरूलाई बलको सही अन्दाज लगाउन कठिन हुने अल जजिराले उल्लेख गरेको छ।

म्यानेजर थॉमस टुचेलको चिन्ता
इंग्ल्याण्डका मुख्य प्रशिक्षक थॉमस टुचेलले यो उचाइमा अभ्यस्त हुन टोलीलाई पर्याप्त समय नभएको स्वीकार गरेका छन्। उनले भने, “हामीसँग अनुकूलन हुन  केवल चार दिन मात्र छ, जुन असम्भव जस्तै हो। कि त हामी १० दिन अघि यहाँ आइपुग्नुपर्थ्यो, कि त खेलको ठीक अघि। तर तालिकाका कारण त्यो सम्भव भएन।”

मेक्सिकोका खेलाडीहरू भने यही उचाइमा बस्ने र खेल्ने भएकाले उनीहरूलाई ‘होम एड्भान्टेज’ हुने टुचेलको बुझाइ छ।

मौसम र किक-अफ समय
मेक्सिको सिटीमा आइतबार भारी वर्षा र बाढीको सम्भावना रहेका कारण फिफाले खेलको समय परिवर्तन गर्नेबारे छलफल गरेको थियो। मध्याह्न १२ बजे खेल सार्ने प्रस्ताव गरिए पनि अन्य खेलहरूको तालिका प्रभावित हुने भएकाले फिफाले पूर्व निर्धारित ६ बजे (नेपाली समय अनुसार सोमबार बिहान ५:४५ बजे) नै खेल गर्ने निर्णय गरेको छ।

ऐतिहासिक पृष्ठभूमि र तथ्याङ्क
एज्तेका रंगशाला मेक्सिकोका लागि एक किल्ला समान मानिन्छ। यहाँ खेलेका ८९ प्रतिस्पर्धी खेलमध्ये मेक्सिकोले मात्र २ खेल हारेको छ। इंग्ल्याण्डका लागि यो मैदान सन् १९८६ को विश्वकपको याद दिलाउने ठाउँ हो, जहाँ डिएगो म्याराडोनाले चर्चित ‘ह्यान्ड अफ गड’ गोल गरेका थिए।

इंग्ल्याण्डको रणनीति
शारीरिक थकान कम गर्न इंग्ल्याण्डले आफ्नो खेलको शैलीमा परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ। प्रशिक्षक टुचेलले बल नियन्त्रणमा राखेर  कम दौडने र उचित मौका पाउँदा मात्र आक्रमण गर्ने रणनीति बनाउन सक्नेछन्। स्ट्राइकर मार्कस रासफोर्डले भने उचाइ र वातावरण जस्तो भए पनि आफूहरू जित निकाल्न सक्षम रहेको दाबी गरेका छन्।

यो खेल जितेमा इंग्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गर्नेछ, तर त्यसका लागि उसले मेक्सिकोको टिमसँगै एज्तेकाको कडा भूगोलसँग पनि लड्नुपर्नेछ।(सोतः अन्तराष्ट्रिय न्यूज एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *