क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’ मा घन्कियो नेपाली कविता
काठमाडौँ, असार २१ । बेलायतको क्याम्ब्रिज सहरमा ‘नेपाली काव्य यात्रा’ को तेस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायतको आयोजनामा क्याम्ब्रिजस्थित ऐतिहासिक स्थल ‘पार्कर्स पिस’ मा उक्त काव्यिक कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले आयोजित सो कार्यक्रममा लन्डन र क्याम्ब्रिज क्षेत्रमा बसोबास गर्दै आएका स्थापित साहित्यकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकारहरू कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण बजगाईंले आफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने र विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मातृभाषासँग जोड्ने लक्ष्यका साथ यो काव्य यात्रा सुरु गरिएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार कृष्ण बजगाईंले काव्य यात्रालाई बेलायतका अन्य विभिन्न सहरहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो । उहाँका अनुसार, यस यात्राका क्रममा वाचन गरिएका कविताहरूलाई समेटेर आगामी दिनमा एउटा विशेष कविता सङ्ग्रह समेत प्रकाशन गरिने योजना रहेको छ ।
विश्वको जुनसुकै कुनामा रहे पनि आफ्नो मौलिक भाषा र साहित्यको संरक्षण एवं श्रीवृद्धि गर्नु सबै नेपालीको साझा दायित्व भएको अध्यक्ष बजगाईंले बताउनुभयो । हालसम्म यस काव्य यात्राका तीनवटा शृङ्खला सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।