बादशाहलाई कायरहरूले होइन हिम्मतिलाहरुले मात्रै घोडाबाट झार्न सक्छन् एमालेसँग त्यो आँट छः ओली
काठमाडौं, २१ असार । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले अहिले पार्टीविरुद्ध कुप्रचार भइरहेको भन्दै त्यसका विरुद्ध एकजुट हुनुपर्ने बताउनु भएको छ । पार्टीको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले आक्रमणविरुद्ध धक्काहरू सहँदै उद्देश्यतर्फ अगाडि बढिरहेको पनि उल्लेख गर्नुभयो । ‘हामीले समय–समयमा ठुला धक्काहरू बेहोरेका छौँ । असफलताहरू पनि भोग्नुपरेको छ। एउटा नदी अगाडि बढ्न पर्यो भने त्यसले कहिले यताको भित्तामा ठोकिँदै, कहिले उताको कुममा ठोकिँदै अगाडि बढ्नुपर्छ। सधैँ सोझो गतिमा, सोझो बाटोमा बिना व्यवधान एउटा नदीले पनि हिँड्न पाउँदैन। हामीलाई रोक्न अनेक व्यवधानहरू आएका हुन्छन्, तर तिनीहरूलाई छिचोल्दै अघि बढ्छौँ,’ उहाँले भन्नुभयो, ‘माओत्सेतुङको एउटा भनाइ छ, जसले हिम्मत गर्छ, आँट गर्छ, त्यसले मात्रै बादशाहलाई घोडाबाट झार्न सक्छ। कायरहरूले घोडाबाट बादशाहलाई झार्न सक्दैनन्। हिम्मतिलाहरूले मात्रै सङ्घर्ष अगाडि बढाउन सक्छन्। हिम्मत भनेको सजिला बेलामा त जसले पनि देखाउँछ। अप्ठ्यारो परिस्थिति आयो भने खुट्टा हेर्नुपर्छ, कामेको छ कि छैन त्यतिबेला थाहा हुन्छ।’
उहाँले पार्टीका कार्यकर्ता पङ्क्तिको निम्ति एउटा परीक्षाको घडी जस्तै अवस्था आएको बताउनुभयो । उहाँले आँट गरेर आफूहरू उठ्ने पनि बताउनुभयो ।