ऊर्जा आपूर्तिमा अवरोधपछि भारतले स्वदेशी तेल अन्वेषणलाई तीव्रता दिने
नयाँ दिल्ली, २१ असार । मध्यपूर्वमा चर्किएको द्वन्द्व र त्यसका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा सिर्जित व्यवधानपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादनलाई व्यापक रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीपसिंह पुरीका अनुसार पछिल्लो ऊर्जा सङ्कटले स्वदेशी ऊर्जा स्रोतको विकासलाई तीव्रता दिन नयाँ प्रेरणा प्रदान गरेको छ।
कच्चा तेल आयातमा विश्वकै तेस्रो र एलपीजी आयातमा दोस्रो ठूलो मुलुक भारतले इरान र अमेरिकाबीचको तनावका कारण ‘स्ट्रेट अफ होर्मुज’ मा भएको अवरोधका क्रममा आपूर्ति सङ्कट व्यहोर्नुपरेको थियो। हाल खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी केही सहज भए पनि भारतले भविष्यमा हुनसक्ने सङ्कट टार्न आयातको विविधीकरण गरिरहेको छ। यसअन्तर्गत भारतले कच्चा तेल आयात गर्ने मुलुकहरूको सङ्ख्या २७ बाट बढाएर ४१ पुर्याएको छ।
आन्तरिक उत्पादनलाई बढावा दिन भारतले हालसम्म अन्वेषण नगरिएको करिब २ लाख ५० हजार वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास उत्खननका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०२५/२६ मा भारतको स्वदेशी कच्चा तेल उत्पादन करिब २ करोड ५९ लाख ८० हजार मेट्रिक टन रहने अनुमान छ, जसले देशको कुल मागको करिब १० प्रतिशत मात्र धान्छ।
रुसी तेल खरिदका विषयमा पश्चिमा मुलुकहरूबाट आलोचना खेपिरहेको भारतले वैचारिक दृष्टिकोणभन्दा आफ्ना नागरिकको ऊर्जा आवश्यकता र राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिने स्पष्ट पार्दै आएको छ। हाल भारतको स्वदेशी कच्चा तेल उत्पादन मुख्यतः मुम्बईको अपतटीय क्षेत्र, राजस्थान, गुजरात र असममा केन्द्रित छ। अब सरकारले अन्डमान तथा निकोबार द्वीप समूहको गहिरो समुद्री क्षेत्रमा अन्वेषणलाई तीव्र पार्ने योजना बनाएको छ।
गहिरो समुद्री अन्वेषणका लागि भारतले पेट्रोब्रास, टोटलएनर्जीज, बीपी, शेल र एक्सनमोबिलजस्ता बहुराष्ट्रिय तेल कम्पनीहरूसँग प्राविधिक सहकार्य गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्रमुनिको तेल तथा ग्यास भण्डार खोजी गर्ने उद्देश्यका साथ सन् २०२५ मा ‘समुद्र मन्थन’ अभियानको घोषणा गर्नुभएको थियो।
भारतले सन् २०७० सम्ममा कार्बन तटस्थता (नेट जिरो) हासिल गर्ने लक्ष्य राखेको भए पनि तीव्र आर्थिक वृद्धिका कारण तेलको खपत निरन्तर बढिरहेको छ। सन् २०२१ मा दैनिक ५० लाख ब्यारेल रहेको तेल खपत हाल ५६ लाख ब्यारेल पुगेको छ र यो छिट्टै ६० लाख ब्यारेल पुग्ने अनुमान छ। यस मागलाई सम्बोधन गर्न भारतले १० अर्ब अमेरिकी डलर बराबरको लगानीमा तेल तथा ग्यास अन्वेषण कार्यलाई तीव्र बनाउने र बाँकी १० लाख वर्ग किलोमिटर क्षेत्रमा पनि अध्ययन अघि बढाउने लक्ष्य राखेको छ।