पर्याप्त वर्षा नहुँदा रुपन्देहीमा बोरिङ र पम्पसेटको भरमा धान रोपाइँ
काठमाडौँ, असार २२ । मनसुन सक्रिय भए तापनि पर्याप्त वर्षा नहुँदा यस वर्ष रुपन्देहीका अधिकांश किसान भूमिगत जलस्रोत (बोरिङ र पम्पसेट) को भरमा धान रोपाइँ गर्न बाध्य भएका छन् । आकाशे पानी र नहरको सुविधा पर्याप्त नभएपछि जिल्लाको दक्षिणी क्षेत्रका किसानले महँगो खर्चमा बोरिङ सञ्चालन गरी रोपाइँ कार्यलाई निरन्तरता दिएका हुन् ।
विशेषगरी रुपन्देहीका कोटहीमाई, मर्चवारी, सम्मरीमाई, गैडहवा र ओमसतिया गाउँपालिकासहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न क्षेत्रमा अहिले बोरिङमार्फत सिँचाइ गरी धान रोप्ने कार्य भइरहेको छ । विगतका वर्षहरूमा मनसुनी वर्षा र कुलोको सिँचाइमा निर्भर रहने किसानहरू यसपटक चर्को घामका बीच पनि भूमिगत पानी तान्न विवश छन् । समयमै वर्षा नहुँदा रोपाइँ प्रभावित हुनुका साथै उत्पादनमा समेत गिरावट आउने चिन्ता किसानहरूमा देखिएको छ ।
स्थानीय किसानहरूका अनुसार सरकारी स्तरबाट निर्माण भएका सिँचाइका संरचनाहरू प्रभावकारी नहुँदा समस्या थपिएको हो । लुम्बिनी सांस्कृतिक नगरपालिकाका किसान अमित चौहान भन्नुहुन्छ, ‘वर्षौंदेखि निर्माण भएका कुलोहरू मर्मतसम्भार र संरक्षणको अभावमा प्रयोगविहीन बनेका छन् । कुलो भए पनि खेतसम्म पानी पुग्दैन, जसका कारण हामीले महँगो शुल्क तिरेर बोरिङ चलाउनु परेको छ ।’
यस्तै, मर्चवारी गाउँपालिकाका स्थानीय बैजनाथ बरइले अहिले अधिकांश किसानले पम्पसेटमार्फत सिँचाइ गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार रोपाइँका लागि कतिपय किसानले तीन-चार वटा पम्पसेट एकैसाथ सञ्चालन गर्नुपर्ने अवस्था छ ।
मर्चवार क्षेत्रसहित रुपन्देहीको दक्षिणी भेगमा स्थायी सिँचाइ प्रणालीको अभाव हुनु यहाँका किसानका लागि वर्षौंदेखिको साझा समस्या हो । भूमिगत पानीमा बढ्दो निर्भरता, डिजेल तथा विद्युत्को बढ्दो महसुल र मौसमको अनिश्चितताले खेतीको लागत उल्लेख्य रूपमा बढाएको छ । यसले कृषि पेशालाई थप खर्चिलो र जोखिमपूर्ण बनाउँदै लगेको किसानहरूको गुनासो छ ।