कोशी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

 

काठमाडौँ, २२ असार । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ औसतभन्दा दक्षिण र पश्चिमी भू–भागतर्फ औसत स्थानकै आसपास अवस्थित रहेको छ ।

हालको मौसमी अवस्था
हाल देशका अधिकांश भू–भागमा बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । मधेस प्रदेशमा भने आंशिक बदलीको अवस्था छ ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बादल लाग्ने अनुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ ।

यस्तै, मधेस प्रदेशका साथै कोशी र बागमतीका तराई भू–भागका केही स्थानमा आज दिउँसो तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

रातको समय र भारी वर्षाको चेतावनी
आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । विशेष गरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा (Heavy Rain) को समेत सम्भावना रहेको छ ।

वर्षा र हिमपातका कारण हुनसक्ने जोखिम, सडक यातायातमा पर्न सक्ने अवरोध र बाढी–पहिरोको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।