वर्षाका कारण धुलिखेल–खावा सडकखण्ड रातको समयमा बन्द नगरिने
काभ्रेपलाञ्चोक, २२ असार । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिका लागि आजदेखि १५ दिनसम्म रातको समयमा सवारी साधन आवतजावत बन्द गर्ने भनिएको निर्णय तत्कालका लागि स्थगित भएको छ। लगातारको वर्षाका कारण निर्माण कार्य प्रभावित भएपछि रातको समयमा सडक बन्द नगरिने भएको हो।
यसअघि उक्त सडकखण्डमा पहिलो चरणको कालोपत्र गर्ने उद्देश्यले आज (असार २२ गते) देखि साउन ४ गतेसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको थियो। तर, केही दिनयताको अविरल वर्षाका कारण ‘सीटीबी’ तथा ‘डीबीएम’ का लागि सडक सम्याएर राखिएको ‘सब–बेस’ विभिन्न स्थानमा बगाएकाले तत्काल निर्धारित कार्यतालिका अनुसार काम गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालयका इन्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण व्यवसायीले वर्षाका कारण काममा बाधा पुगेको भन्दै पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्न पत्राचार गरेपछि तत्कालका लागि सडक खुला नै राख्ने निर्णय भएको हो। ४ किलोमिटर लम्बाइको यो सडकखण्ड कालोपत्र गर्ने क्रममा टिपर र मालवाहक ठुला ट्रकलाई पूर्ण रूपमा रोक लगाउने तथा अन्य सवारी साधनलाई रातको समयमा चलाउन नदिने जिल्ला सुरक्षा समिति काभ्रेको अघिल्लो निर्णय थियो।
डिभिजन सडक कार्यालय भक्तपुरले असार दोस्रो सातादेखि नै राति यातायात बन्द गरेर काम तीव्र पार्न खोजेको भए पनि आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानीमा असर पर्न नदिन जिल्ला सुरक्षा समितिले यसलाई केही दिन पछि सारेको थियो। यसअघि गत चैत महिनामा पनि करिब एक महिना रातको समयमा आवतजावत बन्द गरी दिउँसो एकतर्फी सवारी चलाएर साढे दुई किलोमिटर सडक कालोपत्र गरिएको थियो।