प्रशान्त महासागरमा चीनको क्षेप्यास्त्र परीक्षण: सुरक्षा चासो र चिन्ता बढाउँदै

बेइजिङ, २२ असार । चीनले प्रशान्त महासागरमा आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। परीक्षणअघि नै क्षेत्रका केही राष्ट्रहरूलाई सूचना दिइएको भए पनि यस कदमले जापान लगायतका देशहरूमा सुरक्षा चासो र चिन्ता बढाएको छ। यससँगै दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिबारे नयाँ बहस सुरु भएको छ।

चिनियाँ नौसेनाका प्रवक्ता वाङ सुएमेङका अनुसार पिपुल्स लिबरेसन आर्मी नेभी (पीएलए नेभी) को रणनीतिक आणविक पनडुब्बीबाट तालिमका क्रममा ‘सिमुलेटेड वारहेड’ (कृत्रिम हतियार) बोकेको रणनीतिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। स्थानीय समयअनुसार दिउँसो १२ः०१ बजे गरिएको उक्त प्रक्षेपण वार्षिक सैनिक तालिमको नियमित अंश भएको र सम्बन्धित मुलुकहरूलाई पूर्वजानकारी गराइएको प्रवक्ता वाङले दाबी गरे।

क्षेप्यास्त्र परीक्षण गरिएको दिन नै चीन र रुसले पूर्वी चीनको छिङदाओ नौसैनिक बन्दरगाहबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन्। यद्यपि, यो परीक्षण संयुक्त अभ्यासकै हिस्सा थियो वा फरक गतिविधि भन्नेबारे बेइजिङले स्पष्ट पारेको छैन।

जापान सरकारले चिनियाँ क्षेप्यास्त्र परीक्षणको निन्दा गर्दै बेइजिङलाई यस्ता गतिविधिहरूमाथि पुनर्विचार गर्न आग्रह गरेको छ। अर्कोतर्फ, पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टाकाचेन्कोले चिनियाँ दूतावासमार्फत आफूहरूलाई परीक्षणबारे अग्रिम जानकारी गराइएको पुष्टि गरेका छन्। न्युजिल्यान्ड सरकारका एक अधिकारीले पनि सम्भावित अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र (आईसीबीएम) परीक्षणबारे पूर्वसूचना पाएको तर क्षेप्यास्त्र खस्ने निश्चित स्थान भने नखुलाइएको बताएका छन्।

चीनले विगत केही वर्षयता आफ्नो आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गरिरहेको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को प्रतिवेदनअनुसार सन् २०२३ सम्म चीनसँग ५०० भन्दा बढी आणविक हतियार रहेका थिए भने सन् २०३० सम्ममा यो सङ्ख्या १ हजार नाघ्ने अनुमान गरिएको छ।