मौद्रिक नीतिपछि पुँजी बजारमा निराशा: नेप्से ३० अङ्कले घट्दा ४ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ, २४ असार । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले लगानीकर्ताको अपेक्षालाई सम्बोधन गर्न नसक्दा बुधबार धितोपत्र बजार (नेप्से) मा उल्लेख्य गिरावट देखिएको छ। मौद्रिक नीतिमा पुँजी बजारमैत्री लचिलो व्यवस्थाको प्रतीक्षामा रहेका लगानीकर्ताहरू ‘पर्ख र हेर’ को स्थितिबाट ‘बिक्री चाप’ तर्फ मोडिएपछि बजार ओरालो लागेको हो।

आज नेप्से परिसूचक ३०.०९ अङ्क (१.१३ प्रतिशत) ले घटेर २६२१.५९ विन्दुमा खुम्चिएको छ। परिसूचकसँगै बजारका अन्य महत्त्वपूर्ण सूचकहरूमा पनि गिरावट आएको छ। सेन्सेटिभ इण्डेक्स ३.९३ अङ्कले घट्दा फ्लोट इण्डेक्स २.०६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४२ अङ्कले नकारात्मक रहे।

परिसूचक घटे पनि बजारमा कारोबारको आयतन भने केही बढेको छ। मङ्गलबार ४ अर्ब ४० करोडको कारोबार भएकोमा आज ३६२ कम्पनीको ८४ लाख ६३ हजार कित्ता सेयर रु ४ अर्ब ८२ करोड ६० लाखमा किनबेच भएको छ।

आजको बजारमा ऋणपत्रहरूको कारोबारले उल्लेख्य हिस्सा ओगटेको छ। कारोबार रकमका आधारमा ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रह्यो, जसको ६२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै, ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को ४३ करोड ५० लाख र ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को करिब २२ करोडको सेयर खरिद-बिक्री भयो।

आज कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १३.४१ प्रतिशत गुमाएका छन्। उपकार लघुवित्तको सेयर मूल्य १०.५ प्रतिशत र सानिगाड हाइड्रोको ६.५ प्रतिशतले गिरावट आएको छ। कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी १२ वटै उपसमूहको सूचक राताम्मे देखिएको छ। जलविद्युत् उपसमूह सर्वाधिक १.७० प्रतिशतले घट्दा बैंकिङ, विकास बैंक, वित्त र बिमा समूहमा १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *