महोत्तरीमा सिजन अगावै रित्तियो आँप
महोत्तरी, २४ असार । तराई–मधेसको ‘फलको राजा’ मानिने आँपको सिजन महोत्तरीमा यस वर्ष अनपेक्षित रूपमा समय अगावै समाप्त भएको छ। सामान्यतया जेठ मध्यदेखि भदौ मसान्तसम्म चल्ने आँपको सिजन असार तेस्रो साता नसकिँदै सकिएपछि उपभोक्ता र किसान दुवै प्रभावित भएका छन्।
महोत्तरीका भङ्गाहा, बर्दिबास र गौशाला क्षेत्रका किसानहरूका अनुसार असार लागेदेखि दिनभरि अत्यधिक गर्मी र रातभरि वर्षा हुने ‘वेदर फ्लक्चुएसन’ का कारण बोटमै आँप सड्ने र झर्ने समस्या देखिएको थियो। थप क्षति हुन नदिन किसानहरूले ढिलो पाक्ने प्रजातिका आँप पनि समय अगावै टिपेर बिक्री गरेका हुन्। धान रोपाइँको सिजन सुरु भएसँगै खेतीपातीको काममा व्यस्त हुनुपर्ने र जनशक्तिको अभाव हुने भएपछि किसानहरूले बगैँचा ठेकेदारलाई जिम्मा लगाएर अन्य कृषि कार्यमा लागेका छन्।
सामान्यतया जेठदेखि असार १५ सम्म ‘बम्बई’, असार अन्तिमसम्म ‘मालदह’ र ‘कृष्णभोग’ तथा साउनपछि ‘कलकतिया’, ‘आम्रपाली’, ‘मल्लिका’ र ‘जर्दा’ पाक्ने गर्दछ। तर, यस वर्ष साउन र भदौमा पाक्ने प्रजातिहरू समेत असारमै बजारमा पठाइएको छ। समय अगावै आँप टिप्दा त्यसलाई पकाउन अखाद्य रसायन ‘कार्बाइड’ को प्रयोग बढेको छ, जसले गर्दा आँपको प्राकृतिक स्वाद हराउनुका साथै मानव स्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याएको विज्ञहरूको विश्लेषण छ।
कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लाको झण्डै तीन हजार हेक्टर क्षेत्रफलमा आँप खेती फैलिएको छ। यति ठुलो क्षेत्रमा उत्पादन हुने भए तापनि नजिकै ‘चिस्यान केन्द्र’ (Cold Storage) र ‘प्रशोधन उद्योग’ नहुँदा किसानहरू बिचौलिया र ठेकेदारको भर पर्न बाध्य छन्। उचित भण्डारणको व्यवस्था नहुँदा किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।
स्थानीय ७० वर्षीय किसान लक्ष्मीप्रसाद सिंहका अनुसार स्थानीय सरकारले कृषि क्षेत्रमा ठुलो बजेट विनियोजन गरे पनि व्यावसायिक आँप खेती गर्नेहरूका लागि सहुलियत, बजार व्यवस्थापन र प्राविधिक सहयोग पुग्न सकेको छैन। बोटमै पाकेको आँप स्वास्थ्यकर र स्वादिलो हुने भए तापनि व्यावसायिक बाध्यताका कारण ‘केमिकल’ प्रयोग गरिएका काँचो आँप बजारमा पुग्नुले उपभोक्ता अधिकारको समेत हनन भएको छ।