लमजुङको ग्रामीण पर्यटन : गुरुङ संस्कृतिको जगमा उभिएको समृद्धिको नयाँ ‘मोडल’

लमजुङ, २४ असार । कुनै समय गुरुङ समुदायको सामाजिक र सांस्कृतिक शिक्षालयका रूपमा रहेको ‘रोधी’ परम्परा अहिले लमजुङमा ग्रामीण पर्यटनको रणनीतिक आधार बनेको छ। वैदेशिक रोजगारी र तीव्र बसाइँसराइका कारण परम्परागत रोधीघरहरू सङ्कटमा परे पनि त्यसले सिकाएको सामूहिकता र आतिथ्यको जगमा होमस्टे (घरबास) अभियान फस्टाउँदा लमजुङको ग्रामीण अर्थतन्त्रले नयाँ उचाइ लिएको छ।

गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङमा मौलिक भाषा, वेशभूषा, कला र खानपानलाई पर्यटनसँग जोडेर ‘सांस्कृतिक उत्पादन’ का रूपमा ब्रान्डिङ गरिएको छ। यहाँका आमा समूह, युवा क्लब र होमस्टे व्यवस्थापन समितिहरूले केवल पर्यटन मात्र नभई हराउँदै गएका संस्कारहरूको संरक्षणमा समेत नेतृत्वदायी भूमिका खेलिरहेका छन्।

लमजुङमा सङ्गठित ग्रामीण पर्यटनको सुरुआत विसं २०५७ मा क्व्होलासोथर–३ घलेगाउँबाट भएको थियो। समुद्री सतहदेखि २,१०० मिटर उचाइमा रहेको घलेगाउँ अहिले दक्षिण एसियाकै ‘नमुना ग्रामीण पर्यटकीय गाउँ’ का रूपमा स्थापित छ। यहाँबाट देखिने अन्नपूर्ण, मनास्लु र लमजुङ हिमशृङ्खलाको दृश्यका साथै गुरुङ बस्तीको वास्तुकला पर्यटकका लागि मुख्य आकर्षण हुन्।

त्यसैगरी, क्व्होलासोथर–४ मा रहेको भुजुङ गाउँलाई ‘गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालय’ मानिन्छ। सन् २००७ देखि व्यावसायिक होमस्टे सुरु भएको यस गाउँले परम्परागत ढुङ्गे घर र मौलिक जीवनशैलीलाई यथावत् राखेर पर्यटन प्रवर्द्धन गरिरहेको छ। सिउरुङ, पसगाउँ र काउलेपानी जस्ता गन्तव्यहरूले पनि आ-आफ्नै सांस्कृतिक विशेषतामार्फत पर्यटकको बसाइ लम्ब्याउन सफल भएका छन्।

ग्रामीण पर्यटनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ। सिउरुङका स्थानीय पर्यटनकर्मी पूर्णबहादुर गुरुङका अनुसार पर्यटनले केवल होटल व्यवसायीलाई मात्र नभई निम्न वर्गका कृषकलाई समेत लाभान्वित गरेको छ । स्थानीय उत्पादन जस्तै कोदो, फापर, मकै र स्थानीय दाल जस्ता अर्गानिक परिकारको माग बढेको छ।

वर्षायाममा सङ्कलन गरिने निउरो र च्याउ जस्ता उत्पादनले बजार पाएका छन् भने स्थानीय महिलाहरू हस्तकलामा र युवाहरू पदप्रदर्शक तथा डिजिटल मार्केटिङमा संलग्न भएका छन्।

क्व्होलासोथर गाउँपालिकाले पर्यटन र कृषिलाई एकीकृत गर्ने नीति लिएको छ। गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार, मेमेडाँडा क्षेत्रमा नयाँ पदमार्ग निर्माण गरी कास्कीबाट आउने पर्यटकलाई मनाङसम्म पुग्ने वैकल्पिक मार्गका रूपमा विकास गरिँदै छ। पूर्वाधार विकास, प्राकृतिक झरनाको सौन्दर्यीकरण र ‘डिजिटल ब्रान्डिङ’ मार्फत पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य राखिएको छ।

उत्साहजनक प्रगतिका बाबजुद केही गम्भीर चुनौतीहरू अझै कायम छन्:
१. भौतिक पूर्वाधार: वर्षायाममा ग्रामीण सडकहरू अवरुद्ध हुँदा पर्यटकको आवागमनमा बाधा पुग्ने गरेको छ।
२. दक्ष जनशक्ति पलायन: तालिमप्राप्त युवा जनशक्ति वैदेशिक रोजगारीमा जाँदा सेवाको गुणस्तर कायम राख्न कठिन भइरहेको छ।
३. सांस्कृतिक प्रभाव: आधुनिकताको बढ्दो प्रभावले मौलिक गुरुङ संस्कारको मौलिकता जोगाउन चुनौतीपूर्ण बन्दै गएको छ।