भारी वर्षाको सम्भावनापछि काठमाडाैं महानगरपालिकाकी कार्यवाहक प्रमुख डङ्गोलको अध्यक्षतामा विपद् प्रतिकार्य संयन्त्र सक्रिय
काठमाडौँ, ८ असोज । सम्भावित भारी वर्षाबाट हुनसक्ने विपद्को जोखिम न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिकाले पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र सक्रिय बनाएको जनाएको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ढल, मङ्गल, नाली तथा क्याचपिट नियमित सफाइ गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने, सूचना प्रणाली चुस्त बनाउने तथा वडा तहदेखि सुरक्षा निकायसम्मको समन्वय प्रभावकारी बनाउने निर्णय गरेको हो।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको सम्भावित प्रभावलाई मध्यनजर गर्दै बैठकले जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)बाट प्राप्त सूचनाका आधारमा महानगरवासीलाई सुरक्षित रहन आवश्यक सूचना प्रवाह गर्ने निर्णय गरेको छ।
मौसम पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेपछि महानगरले पूर्वतयारी तथा प्रतिकार्यका विषयमा छलफल गरेको हो।
‘१३३ मिलिमिटरसम्म वर्षा हुनसक्ने, तर आत्तिनुपर्दैन’
बैठकमा महानगर प्रमुखका सल्लाहकार तथा जलस्रोत एवं जलविज्ञानी प्रा. डा. नरेशमान शाक्यले काठमाडौँमा यसअघि धेरै पानी पर्दा ११० देखि १२० मिलिमिटरसम्म वर्षा रेकर्ड भएको र यस वर्ष १३३ मिलिमिटरसम्म वर्षा हुनसक्ने आँकलन रहेको जानकारी दिनुभयो। “यस वर्ष १३३ मिलिमिटरसम्म पानी पर्ने आँकलन देखिन्छ। तर, यसो भन्दैमा डराउनु पर्दैन। सचेत भने हुनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार जोखिम मूल्याङ्कन गर्दा कुल कति मिलिमिटर वर्षा भयो भन्ने मात्र नभई कति अवधिमा कति पानी पर्यो र कुन क्षेत्रमा पर्यो भन्ने विषय महत्वपूर्ण हुन्छ। त्यसका आधारमा कुन क्षेत्रमा कस्तो असर पर्न सक्छ भन्ने विश्लेषण गरी आवश्यक सूचना प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ।
चौबिस घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा भए भारी, १०० देखि २०० मिलिमिटरसम्म भए धेरै भारी र २०० मिलिमिटर वा त्यसभन्दा बढी वर्षालाई अति भारी वर्षाका रूपमा मापन गरिन्छ।
२०० नगर प्रहरी उद्धारका लागि तयारी
महानगरपालिकाको पूर्वतयारीबारे प्रस्तुतीकरण गर्दै विपद् व्यवस्थापन विभागका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका सदस्यसचिव अनिरुद्र नेपालले महानगरभित्र उपलब्ध सवारीसाधन, विपद् प्रतिकार्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। आवश्यकताअनुसार ती स्रोतसाधनलाई ‘फास्ट रेस्पोन्स’मार्फत तत्काल परिचालन गर्ने तयारी गरिएको उहाँले बताउनुभयो।
महानगरपालिकाले पूर्वतयारीअन्तर्गत ६ वटा र्याफ्टिङ बोट, ६ वटा पानी तान्ने पम्प, ५ वटा जेट मेसिन र २०० जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा राखेको जनाएको छ।
डुबानको समस्या समाधानका लागि दैनिक १८ जना जनशक्ति तथा नियमित सफाइका लागि दैनिक ३०० जना सरसफाइकर्मी परिचालन भइरहेको महानगरले जनाएको छ।
विद्यालयलाई अस्थायी होल्डिङ सेन्टर बनाउने तयारी
विपद्का समयमा नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा महानगरभित्रका केही विद्यालयलाई अस्थायी होल्डिङ सेन्टरका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ।
यसका लागि महानगरपालिकाले केही विद्यालयको निरीक्षणसमेत गरेको जनाएको छ। सम्भावित विपद्को अवस्थाअनुसार उद्धार, स्थानान्तरण तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने महानगरको तयारी छ।
