बिपी कोइराला क्यान्सर अस्पतालमा एक वर्षमा दुई लाख बढीले लिए सेवा
उपचारका लागि आएका बिरामीमध्ये छ हजार ८५८ जनामा नयाँ क्यान्सर रोग पहिचान
काठमाडौँ, असोज १२ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई सेवा प्रदान गरेको छ ।
अस्पतालका अनुसार ओपिडी सेवा लिनेमा २७ हजार २४३ जना नयाँ बिरामी रहेका छन् भने बाँकी पुनः परीक्षणका लागि आएका बिरामी हुन् । सो अवधिमा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये छ हजार ८५८ जनामा नयाँ क्यान्सर रोग पहिचान भएको अस्पतालका डा सुशील अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा हरेक वर्ष असोज १० गते उपचारसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । सन् २०२४ मा अस्पतालको ओपिडी सेवाबाट दुई लाख चार हजार ९७१ जनाले सेवा लिएका थिए । त्यसमध्ये ३१ हजार ५६० जना नयाँ बिरामी थिए भने सात हजार नौ जनामा नयाँ क्यान्सर पहिचान भएको थियो ।
सन् २०२५ मा अस्पतालको आकस्मिक विभागबाट २६ हजार १२६ जनाले सेवा लिएका थिए । सोही अवधिमा ११ हजार ५५९ जना बिरामी भर्ना भएर उपचार गराएका थिए भने तीन हजार ९१ वटा ठूला शल्यक्रिया (मेजर अप्रेसन) गरिएको अस्पतालले जनाएको छ ।
सन् २०२४ मा आकस्मिक सेवाबाट ३० हजार ८०१ जनाले सेवा लिएका थिए भने १२ हजार ४७ जना भर्ना भएर उपचार गराएका थिए । सो वर्ष तीन हजार १६९ वटा ठूला शल्यक्रिया गरिएको तथा २७ हजार ४९३ जनाले डे केयर सेवा लिएका थिए ।
सन् २०२५ मा अस्पतालमा विकिरण प्रविधिबाट उपचार गराउने बिरामीको सङ्ख्या दुई हजार ९७० रहेको छ । सोही वर्ष डे केयरमा भर्ना भएर केमोथेरापी सेवा लिने बिरामीको सङ्ख्या २६ हजार ४७२ रहेको डा अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालले विपन्न बिरामीलाई समेत उपचारमा सहुलियत प्रदान गर्दै आएको छ । सन् २०२५ मा १० हजार ९२० जना विपन्न बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालका अनुसार विपन्न बिरामीको उपचारबापत रु ४३ करोड १२ लाख १४ हजार १६१ बराबरको छुट प्रदान गरिएको छ ।
यसैगरी क्यान्सर सेवा समाजमार्फत १७६ जना बिरामीले रु १५ लाख ७३ हजार १४५ बराबरको उपचार छुट पाएका छन् । सन् २०२४ मा नौ हजार ११२ जना विपन्न बिरामीले सेवा पाएका थिए भने उनीहरूको उपचारबापत रु ३५ करोड ५८ लाख २२ हजार २०६ बराबरको छुट प्रदान गरिएको थियो । सो वर्ष क्यान्सर सेवा समाजमार्फत २१५ जनाले रु १३ लाख ९० हजार ३६४ बराबरको छुट पाएका थिए ।
पाँच सय शय्याको अस्पतालमा आइसियू, एचडियू र क्याबिनबाहेकका सबै जनरल बेड निःशुल्क उपलब्ध गराउँदै आएको डा नेपालले बताउनुभयो । अस्पतालमा भर्ना भई उपचार गराउने बिरामीलाई दैनिक दुई छाक खाना र एक छाक नास्तासमेत निःशुल्क उपलब्ध गराउने गरिएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालमा हाल ७१८ कर्मचारी कार्यरत छन् । तीमध्ये एक सय जना चिकित्सक र २९५ जना नर्स रहेका छन् ।
सरकारको स्वायत्त संस्थाका रूपमा विसं २०५३ मा ऐनमार्फत स्थापना भएको अस्पतालले उपचारसँगै क्यान्सरसम्बन्धी अनुसन्धान, निवारण तथा रोकथामलाई आफ्नो उद्देश्य बनाएको छ । चीन सरकारको सहयोगमा निर्माण भएको अस्पताल सुरुमा एक सय शय्याको रहेकामा हाल पाँच सय शय्यामा विस्तार भएको छ । अस्पतालमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।
