इरानले युद्ध अन्त्य गर्ने सात-दिने योजनामा अमेरिकाको प्रतिक्रिया पर्खिरहेको बतायो
अराघचीका अनुसार सुरुवाती चरणहरू पूरा गर्न चार देखि पाँच दिन लाग्नेछ, छैटौं दिनमा होर्मुज जलडमरुमध्य पुनः खुल्नेछ, र "सातौं दिनमा पारस्परिक रूपमा सहमत विषयहरूमा अन्तिम सम्झौताका लागि अमेरिकासँग वार्ता सुरु हुनेछ", जसले इरानको आणविक कार्यक्रमलाई संकेत गर्छ।
काठमाडौं । इरानले अमेरिकासँगको युद्ध अन्त्य गर्न औपचारिक रूपमा सात-दिने रोडम्याप (कार्ययोजना) प्रस्तुत गरेको र हाल वासिङ्टनको प्रतिक्रियाको प्रतीक्षामा रहेको तेहरानका शीर्ष कूटनीतिज्ञले जनाएका छन्। अमेरिकाले यो योजना स्वीकार गरेको खण्डमा होर्मुज जलडमरुमध्य पुनः खोलिने र एक साताभित्रै आणविक वार्ता पुनः सुरु हुने तेहरानको दाबी छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को कार्यालय बाहिर पत्रकारहरूसँग यो योजनाबारे विस्तृत जानकारी दिँदै यसलाई कतारमार्फत वासिङ्टनसम्म पुर्याइएको बताएका छन्।
“अमेरिकाले यो योजना स्वीकार गरेको दिनदेखि नै सात दिनको समयसीमा सुरु हुनेछ,” उनले भने।
के छ योजनामा?
अराघचीका अनुसार सुरुवाती चरणहरू पूरा गर्न चार देखि पाँच दिन लाग्नेछ, छैटौं दिनमा होर्मुज जलडमरुमध्य पुनः खुल्नेछ, र “सातौं दिनमा पारस्परिक रूपमा सहमत विषयहरूमा अन्तिम सम्झौताका लागि अमेरिकासँग वार्ता सुरु हुनेछ”, जसले इरानको आणविक कार्यक्रमलाई संकेत गर्छ।
यो योजनाअन्तर्गत वासिङ्टनले इरानी बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीमाथिको प्रतिबन्ध खारेज गर्ने, करिब १२ अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति फुकुवा गर्ने र लेबनान तथा येमेनसहित सम्पूर्ण क्षेत्रमा युद्धविराम कायम राख्ने प्रस्ताव छ।
बदलामा इरानले युद्धअघि विश्वको पाँचौं हिस्सा व्यापारिक तेल तथा ग्यास ओसारपसार हुने र हाल तेहरानको मुख्य दबाबको आधार बनेको होर्मुज जलडमरुमध्य पुनः खुला गर्नेछ।
“अब निर्णय अमेरिकाकै हातमा छ,” अराघचीले भने। “इरानले दबाब, धम्की वा त्रास स्वीकार गर्दैन, र दबाबमा आफ्नो सार्वभौम अधिकार समर्पण गर्ने छैन। मैले भन्न सक्छु—यदि अमेरिकी पक्ष साँच्चै सम्झौता गर्न र होर्मुज जलडमरुमध्य पुनः खोल्न गम्भीर छ भने अहिले सबै कुरा तयार छ।”
येमेन र लेबनानसहित मध्यपूर्वमा सम्पूर्ण शत्रुतापूर्ण गतिविधि अन्त्य गर्नु पनि तेहरानको प्रमुख माग रहेको बताइएको छ।
पहिले नै असफल भइसकेको सम्झौताकै झल्को
करिब सात महिनादेखि चलिरहेको युद्ध अन्त्य गर्ने उद्देश्यले ल्याइएको यो नयाँ प्रस्ताव कतार र पाकिस्तानको मध्यस्थतामा गत जुन १७ मा तेहरान र वासिङ्टनबीच भएको र ६० दिनको वार्ता अवधि तोकिएको समझदारी-पत्र (एमओयू) सँग निकै मिल्दोजुल्दो देखिन्छ। तर उक्त सम्झौता केही हप्तामै भताभुंग भएको थियो।
होर्मुजमार्फतको ढुवानी नियन्त्रणसम्बन्धी प्राविधिक तथा अस्पष्ट सर्तहरूका कारण विवाद उत्पन्न भएको थियो। इरानले आफ्नो अनुमति प्रक्रिया उल्लंघन गरेको आरोपमा जहाजहरूमा गोली प्रहार गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई महिनामा उक्त सम्झौता “समाप्त” भएको घोषणा गरेका थिए। त्यसयता अमेरिकाले समय-समयमा इरानी भूभाग र तटीय क्षेत्रमा आक्रमण गर्दै आएको छ।
विट्कफसँग भेट, सकारात्मक संकेत
अराघचीले मंगलबार संयुक्त राष्ट्रसंघीय महासभाको सेरोफेरोमा ट्रम्पका दूत स्टिभ विट्कफसँग वार्ता गरेका थिए। विट्कफले उक्त भेट “लामो” रहेको र वार्ताले “सकारात्मक तथा आशाजनक” परिणाम ल्याउने आशा गरेको बताएका छन्।
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले यस सातामा फक्स न्युजसँग युद्ध अन्त्य गर्ने कि नगर्ने निर्णय अब अमेरिकाकै हातमा रहेको बताएका छन्। “युद्ध अन्त्य गर्ने हो कि होइन भन्ने छनौट अमेरिकाले नै गर्नुपर्छ,” उनले भनेका छन्।
ह्वाइट हाउसका एक अधिकारीले सीएनएनलाई ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत “सकारात्मक र रचनात्मक छलफल” गरिरहेको जनाएका छन्।
विश्लेषकहरूमा भने शंका कायमै
तथापि विश्लेषकहरू भने अझै शंकालु देखिन्छन्। जेनेभा ग्र्याजुएट इन्स्टिच्युटका साइरस शायेघका अनुसार “वास्तवमा केही पनि परिवर्तन भएको छैन।” उनका अनुसार इरानले युद्धकालमा हासिल गरेको दबाबको आधार कायम राख्न चाहन्छ भने वासिङ्टन जुनको खाकामा फर्कन अनिच्छुक देखिन्छ।
नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि नै यो सम्झौतामा ठूलो प्रगति हुने सम्भावना कम रहेको विश्लेषकहरूको आकलन छ, यद्यपि अराघचीले शुक्रबार निर्वाचनअघि नै सम्झौता हुनु “राम्रो हुने” बताएका छन्।
द्वन्द्वमा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आफ्ना विदेशमन्त्रीले शुक्रबार राष्ट्रपति पेजेश्कियानसँग तनाव न्यूनीकरण र पुनः संवाद सुरु गर्ने सर्तहरूबारे कुराकानी गरेको जनाएको छ।
