ऐतिहासिक जिब्रो छेड्ने जात्रा संरक्षणमा योगदान पुर्याएको भन्दै वीरेन्द्रभक्तलाई २ लाख पुरस्कार
भक्तपुर, १२ असोज । ऐतिहासिक जिब्रो छेड्ने जात्रा संरक्षणमा योगदान पुर्याएको भन्दै वीरेन्द्रभक्त कसजू श्रेष्ठलाई रु दुई लाख नगदसहित सम्मान गरिएको छ ।
श्रेष्ठले यस वर्ष पाँचौँपटक जिब्रो छेडेका हुन् । थिमिमा आइतबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उनलाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
प्रदेश सरकारले ऐतिहासिक जिब्रो छेड्ने जात्रा संरक्षण तथा यस परम्परामा सहभागी हुने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।
कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
मुख्यमन्त्री थापामगरले बागमती प्रदेशका ऐतिहासिक कला, संस्कृति तथा मूर्त र अमूर्त सम्पदासँगै जात्रा तथा पर्वको संरक्षणमा प्रदेश सरकारले समन्वय र सहयोग गर्ने बताउनुभयो ।
उहाँले ऐतिहासिक सम्पदा, जात्रा तथा पर्वलाई पर्यटनसँग जोड्दै भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको बताउनुभयो ।
