पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो, कृष्णभिर एकतर्फी खुल्यो

काठमाडौँ, १२ असोज । अविरल वर्षापछि पहिरो र बाढीले अवरुद्ध बनेको पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक खुलाउने प्रयास जारी छ । कृष्णभिरको पहिरो हटाइएपछि सो स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन गर्न सकिने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेको छ । पहिरो हटाउने काम भइरहे पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

चालिसे र बाङ्गेमोडमा पहिरो हटाउने काम बाँकी रहेकाले पृथ्वी राजमार्गमा नियमित रूपमा सवारी सञ्चालन गर्न कठिनाइ भएको छ । पहिरो पन्छाउने क्रममा थप वर्षा भए माथिबाट पुनः पहिरो खस्न सक्ने जोखिमसमेत रहेको प्रहरीले जनाएको छ ।

सात राष्ट्रिय राजमार्ग अवरुद्ध
वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बिपी राजमार्ग र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।

बिपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

कान्तिलोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा पनि पहिरो खसेपछि हटाउने काम भइरहेको छ ।

दक्षिणकाली–सिस्नेरीमा साना सवारी चल्दै
काठमाडौँको दक्षिणकाली–सिस्नेरी सडकखण्डमा साना सवारीसाधन तथा टाटा सुमोलगायतका गाडी सञ्चालनमा छन् । ठूला सवारीसाधनलाई भने त्रिभुवन राजपथ हुँदै सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

दक्षिणकाली–सिस्नेरी सडकखण्ड र त्रिभुवन राजपथमा सडकको अवस्था, सवारी चाप र मौसमलाई ध्यानमा राखेर निश्चित समयतालिकाअनुसार आलोपालो सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

लगातारको वर्षाले उपत्यका प्रवेश गर्ने तथा बाहिरिने प्रमुख सडकमार्ग प्रभावित हुँदा लामो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् ।
ट्राफिक प्रहरीले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र अवरुद्ध सडक जबर्जस्ती पार गर्ने प्रयास नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *