बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा पूर्वपदाधिकारीसहित तीन जना पक्राउ

काठमाडौँ, २५ असार । नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को सरकारी कोष र रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बालमन्दिरको कार्यसमितिमा रहेर काम गरेका पूर्वपदाधिकारी तथा सदस्यहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ रहेका छन्। सीआईबीका अनुसार उनीहरूलाई उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदनको निष्कर्षका आधारमा थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका पूर्वपदाधिकारीहरूमाथि बालमन्दिरमा आश्रित बालबालिकाहरूको भरणपोषण, संरक्षण र शिक्षादीक्षाका लागि प्राप्त भएको बजेट तथा आर्थिक सहयोग व्यक्तिगत प्रयोजनमा हिनामिना गरेको आरोप छ।

नक्सालस्थित बाल सङ्गठनको जग्गा अत्यन्तै सस्तो मूल्यमा ७९ वर्षसम्मका लागि व्यावसायिक प्रयोजनमा भाडामा दिई लाभ लिएको कसुरमा प्रहरीले यसअघि नै अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरिसकेको छ। सो जग्गा प्रकरणमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंहसहित २० जनामाथि विस्तृत अनुसन्धान भएको थियो।

अनुसन्धानका क्रममा पूर्वपदाधिकारीहरूले मासिक ९ लाख रुपैयाँ मात्र भाडा तोकेर विक्रम संवत् २१३२ सम्मका लागि वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा सम्झौता गरेको भेटिएको थियो। सङ्गठनको अचल सम्पत्तिको चरम दुरुपयोग भएको पुष्टि भएपछि बाल सङ्गठनको वर्तमान सञ्चालक समितिले सो पुरानो सम्झौता खारेज गर्ने निर्णय गरिसकेको छ।