आत्मदाह गरेका गणेश नेपालीको मृत्युभएपछि माइतीघरमा युवाहरूको प्रदर्शन
काठमाडौँ, २६ असार । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि शुक्रबार माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
मुगु सोरु गाउँपालिका–१ का नेपालीको मृत्युलाई ‘राज्य व्यवस्थाको असफलता र स्थानीय नेतृत्वको कठोर कार्यशैली’ को परिणाम भन्दै युवाहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी युवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सङ्घीय सरकारप्रति लक्षित गर्दै चर्को आक्रोश व्यक्त गरेका छन्। प्रदर्शनकारीहरूले “बालेन, तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो” भन्दै नाराबाजी गरेका थिए। सरकारकाे पछिल्लो कार्यशैलीले निम्न वर्गीय र श्रमजीवी युवाहरूलाई सहरमा बाँच्न कठिन बनाएको आरोप लगाएका छन्।
आक्रोशित युवाहरूले बोकेका प्लेकार्डमा ‘राज्य आतङ्क मुर्दावाद ! ‘बालेन, के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हाे ?’ ‘हत्यारा सरकार मुर्दावाद !’ लगाएतका नाराहरू लेखिएकाे थियो ।
प्रदर्शनकारीहरूले गणेश नेपालीलाई आत्मदाहको स्थितिसम्म पुर्याउने परिस्थिति र यसमा जिम्मेवार पक्षहरूमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरेका छन्।