भोलिदेखि पूर्ण क्षमताको सिलिन्डर बिक्री हुने, मूल्य प्रतिगोटा २,०६० रुपैयाँ निर्धारण
काठमाडौँ, ३० असार । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणालीमा सुधार आएपछि भोलि (बुधबार) देखि देशभर पूर्ण क्षमताका सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ग्यास आयात र लोडिङको अवस्था सहज भएपछि निगमले यसअघिको ‘आधा सिलिन्डर’ नीतिलाई खारेज गरेको हो।
निगमद्वारा जारी आधिकारिक सूचना अनुसार, भोलिदेखि उपभोक्ताले साविक बमोजिमकै १४.२ केजी तौल भएको भरि सिलिन्डर खरिद गर्न पाउनेछन्। पूर्ण क्षमताको उक्त सिलिन्डरको उपभोक्ता मूल्य २,०६० रुपैयाँ कायम गरिएको छ।
यसअघि ग्यासको उच्च माग र भारतीय रिफाइनरीहरूमा भएको प्राविधिक अवरोधका कारण बजारमा अभाव हुन नदिन निगमले उद्योगीहरूलाई ७.१ केजी (आधा सिलिन्डर) मात्र भर्न निर्देशन दिएको थियो। “भारतीय बोटलिङ प्लान्ट र रिफाइनरीहरूमा लोडिङको अवस्थामा उल्लेखनीय सुधार देखिएको छ,” निगमले भनेको छ, “यससँगै बजारमा पर्याप्त मौज्दात सुनिश्चित हुने देखिएकाले पूर्ण क्षमताको सिलिन्डर बिक्री खुला गरिएको हो।”
निगमले हाल बजारमा रहेका ७.१ केजीका आधा सिलिन्डरहरू पूर्ण रूपमा प्रतिस्थापन नभइसकेको तर्फ उपभोक्तालाई सचेत गराएको छ। यो सङ्क्रमणकालीन अवधिमा बजारमा ७.१ केजी र १४.२ केजी दुवै प्रकारका सिलिन्डरहरू उपलब्ध हुन सक्नेछन्। उपभोक्ताले आफ्नो आवश्यकता र सहजता अनुसार ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।