परम्परागत कृषि प्रवर्धनका लागि पोखरा महानगर : ५५० गोरुलाई ५५ लाख प्रोत्साहन अनुदान

काठमाडौँ, साउन ३ । पोखरा महानगरपालिकाले परम्परागत कृषि प्रणालीको जगेर्ना र कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले गोरु पाल्ने किसानलाई अनुदान तथा उन्नत बीउबिजन वितरण गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा महानगरका १९ वटा वडामा पालिएका ५५० वटा गोरुका लागि प्रतिगो १० हजार रुपैयाँका दरले कुल ५५ लाख रुपैयाँ प्रोत्साहन रकम वितरण गरिएको हो। महानगरले अघिल्लो आर्थिक वर्षमा प्रोत्साहन पाएका तिनै किसानलाई लक्षित गरी यस वर्ष उन्नत जातको बीउबिजनसमेत उपलब्ध गराएको छ ।

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार, आधुनिक मेसिनरी प्रयोग बढ्दै जाँदा हराउँदै गएको परम्परागत खेती प्रणालीको संरक्षण गर्न र किसानलाई खेतीतर्फ आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी देखिएको छ। ‘गोरु पाल्ने किसानलाई अनुदान दिन थालेपछि जग्गा बाँझो छाड्ने प्रवृत्तिमा समेत कमी आएको छ ।’ उहाँले बताउनुभयो ।

महानगरको तथ्याङ्क अनुसार, सबैभन्दा बढी वडा नं २१ र १६ मा ८४-८४ वटा गोरुका लागि अनुदान प्रदान गरिएको छ । यसैगरी, वडा नं २४ मा ६२, वडा नं २३ मा ५१, वडा नं २० मा ४८, वडा नं ३१ मा ३८, वडा नं २८ मा ३२, वडा नं १८ मा ३१, वडा नं ३३ मा २९, वडा नं २२ मा २८ र वडा नं १३ का १२ वटा गोरुलाई प्रोत्साहन रकम दिइएको छ ।

त्यस्तै, वडा नं ३२ मा ११, वडा नं १९ मा ८, वडा नं २७ मा ६, वडा नं २६ मा ५, वडा नं २५ मा ३, वडा नं ६ मा २ र वडा नं १५ मा एक गोरु पाल्ने किसानले यो सुविधा प्राप्त गरेका छन् ।

मेसिन पुग्न नसक्ने पहाडी भूगोल र परम्परागत हलो-जुवाको प्रयोगलाई जीवित राख्न महानगरले ल्याएको यो कार्यक्रमले साना किसानलाई प्रत्यक्ष राहत पुगेको विश्वास गरिएको छ ।