विद्यार्थी आन्दोलनमा प्रहरी दमन : राहुल गान्धीद्वारा प्रधानमन्त्री मोदीको राजीनामा माग

नयाँ दिल्ली, ५ साउन । भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणालीमा सुधारको माग गर्दै जारी विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्नुभएको छ ।

काङ्ग्रेस आईका नेता गान्धीले मङ्गलबार प्रधानमन्त्री निवास नजिकै अन्य विपक्षी सांसदहरूसँग विरोध प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले भारतीय युवाको भविष्य जोखिममा पारेको आरोप लगाउनुभयो । उहाँले सरकार न त जवाफदेहिता लिन तयार रहेको, न त यस विषयमा संसद्मा बहस गर्न नै इच्छुक रहेको टिप्पणी गर्नुभयो ।

नयाँ दिल्लीको जन्तर–मन्तर क्षेत्रमा सोमबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच भीषण झडप भएको थियो । उक्त झडपमा परी करिब ६० जना प्रदर्शनकारी र ११८ जना प्रहरी घाइते भएका छन् । यसलाई पछिल्लो पाँच वर्षयताकै ठूलो सडक प्रदर्शनका रूपमा हेरिएको छ ।

‘ककरोच जनता पार्टी’ (सीजेपी) नामक अनलाइन अभियानको आह्वानमा हजारौँ विद्यार्थी र प्रदर्शनकारीहरू शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा सुधारको माग गर्दै सडकमा उत्रिएका हुन् । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले पनि ढुङ्गामुढा गरेका थिए ।

यसै विषयलाई लिएर विपक्षी दलहरूले संसद्मा विरोध जनाउँदै छलफलको माग गरेपछि मङ्गलबार संसद् बैठकसमेत अवरुद्ध भएको छ । भारतमा पछिल्लो समय मेडिकल लगायतका विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका प्रश्नपत्र चुहावट र अनियमितताका घटना बाहिरिएपछि विद्यार्थीहरू आक्रोशित बनेका हुन् ।

यता, संसदीय मामिला मन्त्री किरेन रिजिजुले भने सरकारले परीक्षामा हुने अनियमितता विरुद्ध कडा कदम चालेको र दोषीमाथि कारबाही भइरहेको बताउनुभएको छ । आन्दोलन चर्किए पनि प्रधानमन्त्री मोदीले भने हालसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन ।