आगामी मङ्सिरमा सूचना प्रविधि मेला हुने : डिजिटल रूपान्तरण र एआईमा केन्द्रित
काठमाडौँ, ७ साउन । नेपालको सूचना प्रविधि क्षेत्रलाई प्रवर्द्धन गर्ने र डिजिटल रूपान्तरणलाई गति दिने उद्देश्यले आगामी मङ्सिरमा बृहत् सूचना प्रविधि मेला ‘एनएएस आइटी एक्स्पो’ आयोजना हुने भएको छ ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेसको आयोजनामा हुने उक्त मेला आगामी मङ्सिर ५ र ६ गते सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा विशेषगरी कृत्रिम बौद्धिकता (एआई), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नवीनतम प्रविधिहरूका बारेमा विस्तृत जानकारी र प्रदर्शनी गरिनेछ ।
मेलाको मुख्य लक्ष्य नेपालको प्रविधि क्षेत्रका व्यवसायी, नीति–निर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी र प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा ल्याएर नवप्रवर्तन, सहकार्य र नयाँ व्यावसायिक अवसरहरू सिर्जना गर्नु रहेको छ । आयोजकका अनुसार यस वर्षको मेलाले नेपाली प्रविधि कम्पनीहरूलाई आफ्ना नयाँ सफ्टवेयर समाधानहरू प्रस्तुत गर्न र दीर्घकालीन व्यावसायिक साझेदारी विस्तार गर्न प्रभावकारी माध्यम प्रदान गर्नेछ ।
एक्स्पोमा सरकारी प्रतिनिधि, विभिन्न देशका राजदूत, लगानीकर्ता, व्यावसायिक संस्थाका प्रतिनिधि र स्टार्टअपहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ । प्रदर्शनीका क्रममा डिजिटल रूपान्तरण र उदीयमान प्रविधिहरूसँग सम्बन्धित विभिन्न ज्ञानमूलक सत्रहरू समेत सञ्चालन गरिनेछन् ।
यस मेलाले नेपालको बढ्दो प्रविधि क्षमतालाई विश्वमाझ चिनाउनुका साथै स्थानीय आइटी उत्पादनहरूको प्रवर्द्धन गर्ने र नेपालको डिजिटल अर्थतन्त्रको दिगो विकासमा ठोस योगदान पुर्याउने विश्वास लिइएको छ ।