नेपाल माइक्रो इन्स्योरेन्सका तत्कालीन सिइओ रिमाल पक्राउ

काठमाडौँ, ७ साउन । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उहाँलाई काठमाडौँ महानगरपालिका–७ सिफलबाट बिहीबार नियन्त्रणमा लिएको हो।

सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार रिमाललाई बीमा ऐन, २०७९ र धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको हो।

यसअघि गत जेठ २८ गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्दा रिमाल फरार रहेका थिए। उहाँलाई फरार नै सूचीकृत गरी अदालतमा मुद्दा चलाइएको थियो। सिआइबीले बिहीबार पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि रिमाललाई अदालतमा उपस्थित गराएको जनाएको छ।