हेटौँडामा भक्ति सङ्गीतको १६औँ शृङ्खला सम्पन्न

काठमाडौँ, साउन १० ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा साप्ताहिक रूपमा आयोजना गरिँदै आएको ‘भक्ति सङ्गीत’ कार्यक्रमको १६औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । पिएम सेन्टर सङ्गीत विभागको आयोजनामा हरेक शनिबार भजनकीर्तन एवं सत्सङ्ग कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

भक्ति सङ्गीतका माध्यमबाट समाजमा आध्यात्मिक जागरण र सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको सङ्गीत विभागका महासचिव एवं कार्यक्रम संयोजक गहन खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक तीर्थस्थलहरूमा दर्शनार्थीको आकर्षण बढाउन र आवश्यकता देखिएका अन्य धार्मिकस्थलहरूमा पनि यस कार्यक्रमलाई विस्तार गर्ने विभागको योजना रहेको छ ।

विभागका अध्यक्ष एवं वरिष्ठ सङ्गीतकार प्रमेन्द्र महर्जनले भक्ति सङ्गीतको यस अभियानमा हालसम्म २३ जना कलाकारहरू नियमित रूपमा जोडिएको बताउनुभयो । शनिबारको विशेष शृङ्खलामा प्रह्लाद चौलागाईँ, श्रीदेश चौवे, सीता लामा, अभिमन्यु शर्मा, देवेन्द्र कलबार र गौरी उप्रेतीलगायतका सङ्गीतकर्मीहरूको प्रस्तुति रहेको थियो ।

सोही अवसरमा भक्ति सङ्गीतको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै ९२ वर्षीय रामचन्द्र तिमिल्सिनालाई सम्मान गरिएको थियो । साथै, लीलानाथ अमागाईँ, सीता त्रिपाठी, होमनाथ भण्डारी, लव शाह र घनश्याम ढकाललाई पनि संस्थाका तर्फबाट सम्मान गरिएको विभागले जनाएको छ ।