दाङमा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु

काठमाडौँ, साउन १० । दाङको राजपुर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक किशोरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका २, पीपलडाँडा निवासी १३ वर्षीय दिपेश चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो । शनिबार बेलास्थित दुर्गा सामुदायिक वनमा माटो लिन गएका बेला माथिबाट खसेको माटोको ढिस्कोले उनलाई पुरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर खत्रीले घटनालगत्तै किशोरको उद्धार गरी अस्पताल पुर्‍याइएको जानकारी दिनुभयो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।