माइतीघरको डुबान समस्या सुल्झाउन कार्यवाहक प्रमुख सुनिता डंगोलको अग्रसरता

माइतीघर मण्डला डुवान हुनुमा ‘इन्जिनियरिङ त्रुटि’ र ‘अतिक्रमण’लाई मुख्य कारण औँल्याउँदै प्रतिवेदन पेश

काठमाडौँ, साउन १० ।  काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको सक्रिय निर्देशनमा माइतीघर मण्डला क्षेत्रको डुबान समस्या समाधानका लागि गठित प्राविधिक टोलीले आफ्नो प्रतिवेदन पेश गर्दै ढल निकासमा रहेको ‘इन्जिनियरिङ त्रुटि’, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण र प्राकृतिक जलाधारको संकुचनलाई मुख्य कारणका रूपमा औँल्याएको छ । डंगोलकै नेतृत्वमा गत साउन ५ गते गरिएको स्थलगत अनुगमन र निर्देशनपछि तयार पारिएको सो प्रतिवेदनले समस्याको पहिचान मात्र नगरी भूमिगत भण्डारण ट्याङ्की निर्माणसहितका दीर्घकालीन समाधानका उपायहरू समेत सिफारिस गरेको छ ।

काठमाडौँको माइतीघर मण्डला क्षेत्र डुबानमा परेर सर्वसाधारणले सास्ती खेप्नुपरेपछि डंगोलले विकास साझेदार र सरोकारवाला निकायका प्रतिनिधिहरूसहित स्थलगत अनुगमन गरी प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनका आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर के.सी. को संयोजकत्वमा गठित विज्ञ टोलीले विस्तृत अध्ययन प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन अनुसार माइतीघर मण्डलाको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि फेला परेको छ । जसमा माथिल्लो भागबाट ९० सेन्टिमिटर व्यासको ढल आउने भए तापनि तल्लो भागमा पुग्दा त्यसलाई ६० सेन्टिमिटरको साँघुरो पाइपमा जोडिएको पाइएको छ । यसरी माथिल्लो भागबाट आउने पानीको उच्च चापलाई तल्लो भागको साँघुरो ढलले धान्न नसक्दा ‘बोटलनेकिङ’ को समस्या उत्पन्न भई पानी सडकमा बाहिरिने गरेको देखिएको छ । साथै, टुकुचा खोलाको सतह बढेको समयमा ढलको पानी खोलामा जानुको साटो उल्टै बस्ती र सडकतर्फ फर्कने ‘ब्याक फ्लो’ को गम्भीर समस्या समेत पहिचान गरिएको छ ।

भौतिक पूर्वाधार बाहेक वातावरणीय र शहरी व्यवस्थापनका कमजोरीलाई पनि प्रतिवेदनले डुबानको प्रमुख कडीका रूपमा प्रस्तुत गरेको छ । विगतमा माइतीघर आसपासका खुला क्षेत्रहरूले प्राकृतिक रूपमा वर्षाको पानी सोस्ने काम गर्थे, तर अहिले जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिलको कार्यालय जस्ता ठूला भवन निर्माण भई जमिन कंक्रिटले ढाकिएपछि पानी जमिनमुनि सोसिने प्रक्रिया पूर्ण रूपमा बन्द भएको छ । यसका अतिरिक्त कतिपय स्थानमा ढलमाथि नै व्यक्तिगत र सरकारी संरचनाहरू निर्माण भएका कारण नियमित सरसफाइमा अवरोध पुगेको र ढल भित्र प्लास्टिकजन्य फोहर तथा ढुङ्गा-गिट्टी थुप्रिनाले पानीको बहाव थप रोकिएको निष्कर्ष निकालिएको छ ।

समस्या समाधानका लागि प्रतिवेदनले तत्काल र दीर्घकालीन रूपमा चालिनुपर्ने कदमहरू समेत सिफारिस गरेको छ । तत्कालका लागि ढल निकास मार्गमा रहेका अवरोध हटाउने र नियमित सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिन भनिएको छ भने दीर्घकालीन समाधानका रूपमा माइतीघर वा पुरानो स्वास्थ्य मन्त्रालय परिसरको जग्गामा ठूलो क्षमताको भूमिगत पानी भण्डारण ट्याङ्की निर्माण गर्न सुझाव दिइएको छ । यस्तो ट्याङ्कीले वर्षाको उच्च चाप भएको समयमा पानी संकलन गरी पछि बिस्तारै निकास दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यसैगरी टुकुचा खोलाको निकास विन्दुमा पानी फिर्ता हुन नदिने ‘नन रिटर्न भल्भ’ जडान गर्ने, समग्र उपत्यकाको ढल सञ्जालको जीआईएस म्यापिङ गर्ने र क्याचमेन्ट एरियाको आधारमा ढलको क्षमता पुनः डिजाइन गर्नुपर्नेमा प्रतिवेदनले विशेष जोड दिएको छ । सडक, खानेपानी, ढल र विद्युत जस्ता निकायहरूबीच समन्वयको अभावमा एउटाले बनाउने र अर्कोले खन्ने परिपाटीलाई अन्त्य गरी एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकतालाई समेत प्रतिवेदनले औँल्याएको छ । कार्यवाहक प्रमुख डंगोलको यो सक्रियता र विज्ञ टोलीको सिफारिसले माइतीघर मण्डला क्षेत्रलाई डुबानमुक्त बनाउने दिशामा ठोस आधार तयार पारेको छ ।