म्याग्दीमा पहिरोले घर पुरिँदा एक वृद्धको मृत्यु, पहिरोमा पुरिएकी महिलाको सकुशल उद्धार
म्याग्दी, ११ साउन । म्याग्दीमा गएराति गएको पहिरोमा परी एक जना वृद्धको मृत्यु भएको छ भने पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७० वर्षीय लालवीर छन्त्यालको पहिरोमा पुरिएर मृत्यु भएको हो। गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा सुतिरहेको अवस्थामा छन्त्यालको मृत्यु भएको हो।
यसैगरी, धवलागिरि गाउँपालिका–७ धारापानीको हाडेभिरमा पहिरोमा पुरिनुभएकी ६३ वर्षीया धनकुमारी थापाको भने सकुशल उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा थापालाई उद्धार गरिएको प्रहरीले जनाएको छ।
गएरातिको अविरल वर्षाका कारण सदरमुकाम बेनीदेखि ग्रामीण भेग जोड्ने अधिकांश सडकहरू अवरुद्ध भएका छन्। पहिरोका कारण विभिन्न स्थानमा भौतिक संरचना र पशुचौपायामा समेत क्षति पुगेको छ।
यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। बेनी जोमसोम सडक योजना, पूर्वाधार विकास कार्यालय र स्थानीय तहहरूले अवरुद्ध सडक खुलाउन प्रयास गरिरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो।