कर्णालीको मुख्यमन्त्रीमा मङ्गलबहादुर शाहीको दाबी पेस : नियुक्ति बुधबार हुने

काठमाडौँ, साउन १२ ।  कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता मङ्गलबहादुर शाहीले आज आफ्नो दाबी पेस गर्नुभएको छ ।

नेकपा (एमाले) को समर्थनमा नेता शाहीले आज प्रदेश प्रमुखको कार्यालय, सुर्खेत पुगेर प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि औपचारिक रूपमा दाबी पेस गर्नुभएको हो। दाबी पेस गर्ने क्रममा एमालेका प्रमुख सचेतक टेकराज पछाइसहित अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।

नेता शाहीले आज दाबी पेस गरे पनि उहाँको नियुक्ति भने बुधबार मात्र हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार प्रदेश प्रमुखले आवश्यक छलफल र प्रक्रिया पूरा गरी भोलि (बुधबार) मात्रै उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुनेछ।

हाल ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र नेकपा (एमाले) का १० जना प्रदेशसभा सदस्य रहेका छन्। दुई दलको गठबन्धनसँगै नेता शाहीलाई बहुमत सदस्यको समर्थन प्राप्त भएको छ।