सुरक्षाको माग गर्दै चिकित्सक सडकमा, यस्तो छ उनिहरुको प्रतिक्रिया
काठमाडौं, १३ साउन । अस्पतालमा विरामीको सेवामा तल्लिन बन्नुपर्ने चिकित्सकहरु अहिले आफैँ असुरक्षित भएको भन्दै सुरक्षाको माग गर्दै आन्दोलित बनेका छन् । केही समय अघि नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनालाई लिएर चिकित्सकहरू आन्दोलित बनेका हुन् ।
उनीहरुले देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै माइतीघरमा आज प्रदर्शन गरेका हुन् । नेपाल चिकित्सक संघ (एनएमए) को नेतृत्वमा भएको आन्दोलन चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरूलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै उनीहरु आन्दोलित बनेका छन् ।
उनिहरुले चिकित्सकलाई कानुनी रूपमा संरक्षण गर्ने व्यवस्थामा थप स्पष्ट हुनुपर्ने, उपचारसम्बन्धी कानुनी प्रावधान, उपभोक्ता अदालतलगायतका व्यवस्थामा आवश्यक संशोधन गरी चिकित्सकलाई दोषी ठहर गर्ने मानसिकताभन्दा निष्पक्ष कानुनी प्रणाली विकास गर्नुपर्नेलगायतका माग पनि उनीहरुले राखेका छन् ।
माइतीघरमा आन्दोलनमा सहभागि डाक्टर सरोज गोहिवारले डाक्टर भनेको भगवान वा धामीझाँक्री नभएको भन्दै सुरक्षित रुपमा विरामीको उपचार गर्ने वातावरण बनाउन सरकारसँग माग गर्नुभयो । उहाँले आफ्नो सहकर्मी टाउकोमा गम्भीर चोट र गर्दनको हड्डीमासमेत चोट लागेको अवस्थामा आईसीयूमा भर्ना गर्नुपरेको भन्दै यस्तो डरको मनस्थितिमा विरामीको उपचार गर्न कठिन हुने बताउनुभयो । उहाँले चिकित्सक सुरक्षित भएर काम गर्न पाउनुपर्छ भन्ने मागसहित आन्दोलनमा उत्रिएको जानकारी दिनुभयो ।
डाक्टर टेली महतले पनि निकै ठूलो परिश्रम गरेर डाक्टर बनेको भन्दै यस्ता घटनाले काम गर्ने मनोविज्ञान नबनेको बताउनुभयो । उहाँले अहिले अरुलाई भयो भनेर चुपलाग्ने अवस्था नभएको भन्दै भोलि त्यहि घटना आफूमाथि पर्यो भने के गर्ने भन्ने प्रश्न तेर्स्याउनु भयो । उहाँले तत्कालै सरकारले एक्सन लिनुपर्ने उहाँको भनाई थियो ।
त्यस्तै युवा डाक्टर प्रज्ञान बस्नेतले पनि श्रमको सम्मान हुनुपर्ने र सुरक्षित वातावरणमा काम गर्न पाइयोस् भन्नुभयो ।