प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा वाग्ले तथा सुब्बाको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ, १३ साउन । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरु वाग्ले तथा डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की र आयुक्तहरूमा वाग्ले र सुब्बाको योग्यता, कार्यक्षमता र प्रस्तुत कार्ययोजनाका आधारमा उनीहरूको नाम सर्वसम्मत अनुमोदन गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उहाँहरूलाई राष्ट्रपतिले पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

यसअघि संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा वाग्ले र डा. सुब्बाको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *