परीक्षा अनियमितता र बेरोजगारीविरुद्धको युवा आन्दोलनले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारलाई दबाब

एजेन्सी, १३ साउन । भारतमा परीक्षा प्रणालीमा देखिएको अनियमितता र रोजगारीको मुद्दालाई लिएर सुरु भएको युवा नेतृत्वको आन्दोलनका कारण प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमाथि राजनीतिक दबाब बढेको छ। आन्दोलन चर्किँदै गएपछि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ भने सरकार प्रदर्शनकारीमाथि लगाइएका मुद्दा फिर्ता लिन सहमत भएको छ।

सामाजिक सञ्जालको ‘ककरोच जनता पार्टी’ (सीजेपी) नामक डिजिटल अभियानबाट सुरु भएको यो आन्दोलन नयाँदिल्ली हुँदै देशका विभिन्न सहरहरूमा फैलिएको थियो। विश्लेषकहरूले यसलाई सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीको अटल राजनीतिक छवि र प्रभावमाथि आइलागेको ठूलो चुनौतीका रूपमा व्याख्या गरेका छन्।

प्रधानमन्त्री मोदीका जीवनीकार एवं राजनीतिक विश्लेषक निलाञ्जन मुखोपाध्यायले दबाबमा सजिलै पछि नहट्ने प्रधानमन्त्री मोदीको कार्यशैली विपरीत शिक्षामन्त्रीको राजीनामा आउनु अप्रत्याशित रहेको बताउनुभयो। उहाँका अनुसार यो घटनाले स्थापित ‘ब्रान्ड मोदी’ लाई ठूलो धक्का दिएको छ।

सुरुमा आन्दोलन मत्थर हुने अनुमान गरिए पनि गत जुलाई २० मा संसद् भवनतर्फ अघि बढिरहेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलन देशव्यापी बनेको थियो। परीक्षा प्रश्नपत्र चुहावटको मुद्दा युवाहरूको भविष्य र समग्र असन्तुष्टिसँग जोडिएपछि यसले व्यापक रूप लिएको हो। पञ्जाब, गुजरात र उत्तर प्रदेश जस्ता राज्यहरूमा हुन लागेको महत्त्वपूर्ण निर्वाचनअघि भएको यो आन्दोलनले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) लाई राजनीतिक रूपमा असहज बनाएको विश्लेषकहरूको बुझाइ छ।

मिशिगन विश्वविद्यालयका प्राध्यापक जोयोजित पालका अनुसार बदलिँदो डिजिटल प्रविधिका कारण सामाजिक सञ्जाल साना सहरहरूसम्म विस्तार भई युवाहरूको असन्तुष्टि व्यक्त गर्ने सबैभन्दा प्रभावकारी माध्यम बनेको छ, जसलाई सरकारले बेलैमा आकलन गर्न सकेन।

प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमार्फत दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाउँदै नयाँ शैलीका भिडियोहरू सार्वजनिक गर्नुभएको थियो, तर ती भिडियोहरूसमेत सामाजिक सञ्जालमा व्यङ्ग्य र आलोचनाको विषय बनेका छन्। विश्लेषकहरूका अनुसार भारतमा सार्वजनिक असन्तुष्टि अभिव्यक्त गर्ने ठाउँहरू संकुचित हुँदै जाँदा सामाजिक सञ्जाल प्रतिवादको सशक्त माध्यमका रूपमा स्थापित हुँदै गएको छ।