नेप्से परिसूचकमा करिब ८ अङ्कको गिरावट, कारोबार रकम ४ अर्ब २ करोडमा खुम्चियो
काठमाडौँ, १३ साउन । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार सामान्य अङ्कले घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागिरहेको बजारले आज पनि सोही घट्दो लयलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७.७९ अङ्कले घटेर २,६८८.८८ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७८ अङ्क, फ्लोट इण्डेक्स ०.६५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अङ्कले घटेको छ।
परिसूचकसँगै सेयर कारोबार रकममा पनि केही कमी आएको छ। अघिल्लो कारोबार दिन मङ्गलबार रु ४ अर्ब ४२ करोडको सेयर कारोबार भएको बजारमा आज ३४३ कम्पनीको ४८ हजार पटकको कारोबारमा रु ४ अर्ब २ करोड ९४ लाख बराबरको ९७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य निरन्तर आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको सेयर मूल्य रु १२९.१० ले बढेर प्रतिकित्ता रु ९९०.१० मा अन्तिम कारोबार भएको छ। यस्तै, कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य करिब साढे १२ प्रतिशतले बढेको छ भने अन्य कम्पनीको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा आज हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु २२ करोड ४८ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै, खानी खोला हाइड्रोपावरको रु २१ करोडभन्दा बढी र रिलायन्स स्पिनिङ्ग मिल्सको करिब रु १८ करोडको सेयर खरिदबिक्री भएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये केवल दुई उपसमूह (म्युचुअल फण्ड र अन्य) को परिसूचक सामान्य बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।