मनसुनमा किन हुन्छ सरुवा रोगको जोखिम ?

काठमाडौँ, १४ साउन  । मनसुन सक्रिय भएसँगै मुलुकभर बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद्का साथै विभिन्न किसिमका सरुवा एवं संक्रामक रोगहरूको जोखिम पनि बढेको छ। स्वास्थ्य विज्ञहरूका अनुसार वर्षायामको ओसिलो र तातो वातावरण रोग फैलाउने जीवाणु, भाइरस तथा कीटहरूको वृद्धिका लागि अत्यन्त अनुकूल हुने गर्दछ।

मनसुनका बेला डेङ्गु, झाडापखाला, हैजा, स्क्रब टाइफस, मलेरिया र विभिन्न प्रकारका फङ्गल सङ्क्रमणको जोखिम प्रत्येक वर्ष बढ्ने स्वास्थ्य क्षेत्रको प्रमुख चिन्ताको विषय हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बास्तोलाले मनसुन सुरु भएसँगै अस्पतालमा झाडापखाला, आउँ (डिसेन्ट्री) लगायतका पानीजन्य रोगका बिरामी बढ्ने गरेको जानकारी दिनुभयो। “यससँगै डेङ्गु र मलेरियाका बिरामी पनि अस्पताल आउने क्रम बढ्छ,” उहाँले भन्नुभयो, “यो मौसममा यस्ता रोगको जोखिम उच्च हुने भएकाले खानपान, व्यक्तिगत सरसफाइ र सुरक्षित पानी पिउने कुरामा विशेष ध्यान दिनुपर्छ।”

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मनसुनमा मानिसको जीवनशैली, दूषित पानी र तापक्रम वृद्धिका कारण मौसमी रोगको जोखिम बढ्ने बताउनुभयो। उहाँका अनुसार झाडी र ओसिलो घाँसमा पाइने ‘चिगर’ (लार्भा माइट) ले सार्ने स्क्रब टाइफस र लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु अहिले मुख्य चुनौतीका रूपमा देखा परेका छन्। डा. पुनले घर वरिपरि पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपायहरू अपनाउन आग्रह गर्नुभयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं जलवायुविद् डा. धर्मराज उप्रेतीका अनुसार जलवायु परिवर्तनका कारण वर्षाको स्वरूप फेरिँदा जनस्वास्थ्यमा नयाँ चुनौतीहरू थपिएका छन्। छोटो समयमा अत्यधिक वर्षा हुनु र लामो समयसम्म पानी जम्नुले खानेपानीका स्रोतहरू प्रदूषित बनाई पानीजन्य रोग फैलिने दर बढाएको छ। बढ्दो तापक्रमले किटाणु र लामखुट्टेको प्रजननका लागि अझ अनुकूल वातावरण सिर्जना गरिदिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीले वर्षायाममा फैलिन सक्ने सरुवा रोगको नियन्त्रणका लागि सरकारले देशभर निगरानी प्रणाली सक्रिय बनाएको जानकारी दिनुभयो।

सरकारले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ कार्यान्वयन गर्दै प्रभावितहरूको उपचारका लागि आवश्यक औषधि, स्वास्थ्य सामग्री, जनशक्ति तथा साधन-स्रोत तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो। डा. अधिकारीले ज्वरो, झाडापखाला, बान्ता वा अन्य सङ्क्रमणका लक्षण देखिएमा घरेलु उपचारमा मात्र नअल्झिई तत्काल स्वास्थ्य संस्थामा जान अपिल गर्नुभयो।

वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. बिमलेश कुमार गुप्ताका अनुसार मनसुनमा बढ्ने वातावरणीय आर्द्रताका कारण कान पाक्ने, घाँटी दुख्ने, टन्सिल तथा नाकसम्बन्धी समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गर्छ।

ओसिलो मौसममा जीवाणु र फङ्गसको वृद्धि सहज हुने भएकाले कानमा प्रदूषित पानी पर्न नदिन, कान सुक्खा राख्न र चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि कानमा नहाल्न उहाँले सुझाव दिनुभयो। सामान्य ठानिएका यस्ता सङ्क्रमण समयमै उपचार नगर्दा दीर्घकालीन रूपमा श्रवणशक्ति घट्ने जस्ता जटिलता निम्तिन सक्ने भएकाले प्रारम्भिक लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउनु उपयुक्त हुन्छ। प्रगति ढकाल/रासस