बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध: कहाँको अवस्था कस्तो छ? (पूर्ण विवरणसहित)

काठमाडौँ, १७ भदौ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागमा सडक सञ्जाल नराम्ररी प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान जारी गरेको पछिल्लो बुलेटिनअनुसार मुख्य राजमार्गका कतिपय खण्डहरू पूर्ण रूपमा ठप्प भएका छन् भने कतै वैकल्पिक मार्गबाट यातायात सञ्चालनको प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार देशका विभिन्न सडकखण्डको अवस्था यसप्रकार छ:
१. पृथ्वी राजमार्ग (धादिङ): यस राजमार्गको धादिङ खण्ड सबैभन्दा बढी प्रभावित छ । बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा त्रिशूली नदीको तीव्र कटानले सडकको भाग भासिएपछि यातायात पूर्ण रूपमा रोकिएको छ । त्यस्तै, गजुरी गाउँपालिका–२ परेवाभीरमा पनि सडकको तल्लो भाग करिब २० देखि २५ मिटर भासिएकाले सवारी आवागमन ठप्प छ ।

२. पासाङल्हामु राजमार्ग (रसुवा): भदौ १० गतेको विनाशकारी बाढीले त्रिशूली नदी किनारका अधिकांश भाग कटान गरेपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । रसुवाको स्याफ्रुबेँसीसम्म पुग्नका लागि प्रहरीले वैकल्पिक कच्ची मार्ग प्रयोग गर्न सुझाएको छ । यात्रीहरूले काठमाडौँ–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पाच्र्याङ–भोर्ले–कालिकास्थान–राम्चे–धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्नेछन् । यो मार्ग सिङ्गल लेन र कच्ची रहेको छ ।

३. नुवाकोट र टोखा–छहरे सडक: नुवाकोटको विदुर–लाच्याङ खण्डको सूर्यगढी–१ मा पहिरो खसेर सडक अवरुद्ध भएको छ । यस्तै, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै टोखा–छहरे सडकखण्डमा अत्यावश्यक बाहेकका सवारी साधनलाई राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म चलाउन रोक लगाइएको छ ।

४. लमजुङ र मुगु: लमजुङको बेँसीसहर–मनाङ सडकखण्डअन्तर्गत बेँसीसहर–६ खरखरेभीरमा पहिरोका कारण सडक बन्द छ । मुगुको नाग्म–गमगढी सडकखण्डमा पनि वर्षासँगै आएको लेदो र ढुङ्गाका कारण यातायात प्रभावित भएको छ ।
५. अन्य जिल्लाहरू:
बैतडी: गोठालापानी–झुलाघाट सडकखण्डमा पहिरोले यातायात अवरुद्ध पारेको छ ।
इलाम: मेची राजमार्गको राजदुवालीमा सडक हिलो भएर रोकिएको यातायात हाल साना सवारीका लागि मात्र खुला गरिएको छ ।
बीपी राजमार्ग: बाढीको जोखिमका कारण काभ्रे–सिन्धुली जोड्ने यस राजमार्गमा साँझ ६:०० देखि बिहान ४:०० बजेसम्म सवारी चलाउन निषेध गरिएको छ ।

६. काठमाडौँ–हेटौँडा नयाँ ट्राफिक नियम:
प्रहरीले मकवानपुर र काठमाडौँ जोड्ने सडकमा सवारीको प्रकृतिअनुसार नयाँ ‘रुट’ तय गरेको छ:
ठूला सवारी (१० चक्कासम्म): काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति लोकपथ प्रयोग गर्नुपर्नेछ ।
साना सवारी (१४ सिटमुनि): हेटौँडातर्फ जाँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र काठमाडौँ आउँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्नुपर्नेछ ।

विपद्को यो समयमा अत्यावश्यक कामबाहेक लामो दुरीको यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ । यात्रा गर्नै परेमा सडकको अवस्था बुझेर मात्र निस्कन, ओभरटेक नगर्न र कार्यक्षेत्रमा खटिएका ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ ।