तराई मधेसको पछिल्लो अवस्थाबारे राष्ट्रपतिद्वारा पूर्वविशिष्ट पदाधिकारीसँग परामर्श
काठमाडौँ, साउन १५ । राष्ट्रपति रामचन्द्र पौडेलले तराई मधेसका केही जिल्लामा देखिएको असहज परिस्थितिका सन्दर्भमा पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भएको उक्त भेटवार्तामा राष्ट्रपति पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकास्थित कप्तानगन्ज लगायतका क्षेत्रमा विकसित घटनाक्रमप्रति चासो र चिन्ता व्यक्त गर्नुभएको हो। छलफलका क्रममा उहाँले नेपालको सदियौँदेखिको सामाजिक, धार्मिक र जातीय सद्भाव तथा सहिष्णुतालाई अक्षुण्ण राख्दै राष्ट्रिय एकता कायम गर्न सबै पक्ष सजग हुनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले विद्यमान चुनौतीलाई चिर्दै आपसी एकता र सद्भाव प्रवर्द्धन गर्न सबैले आ-आफ्नो तहबाट पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले वर्तमान विषम परिस्थितिलाई सम्बोधन गर्न सरकारले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम सर्वसाधारणलाई विश्वासमा लिएर ठोस कदम चाल्नुपर्ने सुझाव दिनुभएको थियो ।
छलफलमा तराई-मधेसको शान्ति सुरक्षा र सामाजिक संवेदनशीलताका विषयमा समेत गहन विचार विमर्श भएको शीतल निवासले जनाएको छ ।